डेङ्गी सङ्क्रमणबाट बच्न सावधान रहनुपर्ने, कीटजन्य रोग शाखा प्रमुख डा. दाहाल
काठमान्डौं, ९ जेठ । यो वर्ष बर्खा याममा सरदरभन्दा बढी पानी पर्ने र डेङ्गी सङ्क्रमण पनि थप बढ्न सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेसँगै डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने अनुमान गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम विभागले धेरै पानी पर्ने भनेको अवस्थामा पूर्व अनुमान मिल्यो भने त्यसले डेङ्गी सङ्क्रमणको जोखिम बढाउने बताउनुभयो । पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टेलाई अनुकुल वातावरण बन्दछ । डा.दाहालका अनुसार गएको वर्षको तुलनामा अहिले डेङ्गीको कम सङ्क्रमण देखिएको छ ।
तर अनुकुल वातावरण अब बन्दै जानेछ । त्यसैअनुसार पूर्वतयारी र सतर्कता अपनाउन डा. दाहालले आग्रह गर्नुभएको छ । पानी सङ्कलन हुने टायर, गमला, लामखुट्टे बस्ने झाडीको अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड रहेको छ । अघिल्लो वर्ष सन् २०२४ मा डेङ्गी सङ्क्रमणबाट १५ जनाको ज्यान गएको थियो भने झन्डै ४२ हजार जना सङ्क्रमित भएका थिए ।