अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर, २० दिन विद्यालय बन्द
काठमाण्डौँ, १० जेठ । दार्चुलाको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन् । गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिँह साउदले यार्सा सङ्कलनको ‘सिजन’ सुरु भएकाले जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको जानकारी दिनुभयो।
बर्खे बिदाबाट मिलान गर्ने गरी हाल विद्यालय बन्द गरिएका र यही जेठ २४ गते खुला गरिने उहाँले बताउनुभयो । जडीबुटी सङ्कलन गरिने भएकाले यहाँ हरेक वर्ष यही समयमा अधिकांश विद्यालय बन्द हुने गरेका छन् । गाउँपालिकाभरिका २४ सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् ।
प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शनिवार