जङ्गली च्याउको तरकारी खाँदा तीन जनाको ज्यान गयो
काठमान्डौं, ११ जेठ । इलाममा जङ्गली च्याउको तरकारी खाएका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका ५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । झापाको बिर्तामोडमा रहेको बी.एन.सी. अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए ।
मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै ज्यान गएको थियो । लावतीको आज बी.एन.सी. अस्पतालमा ज्यान गएको हो । हरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा धेरै मानिसहरुको अकालमा ज्यान गइरहेको छ ।
यसैबीच, नेपालमा झन्डै एक हजार तीन सय प्रजातिका च्याउ पाइनेमा झन्डै एक सय प्रजातिका च्याउ विषालु रहेका जडीबुटी तथा वनस्पति विज्ञ डा. मित्र पाठकले बताउनुभयो । च्याउ हेरेर विषालु छ कि छैन भन्न कठिन रहेको छ । तर किरा नलागेको, नमिठो गन्ध आएको, झुसको मात्रा धेरै भएको, रङ्गीचङ्गी, भाँच्दा दूध वा चोप निस्कने च्याउ विषालु हुनेगर्दछ ।