२०८२ चैत्र २ गते सोमवार | 2026 March 16th Monday

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ को मृत्यु

काठमाण्डौँ, १३ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ । दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्काको पनि ज्यान गएको छ ।

सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो । उहाँका अनुसार तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो ।

जिपमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा छन् । बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस