पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौँ,१ असार । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशको एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रकाशित मिति : २०८२ असार १ गते आइतवार