२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

अबका केही दिन कोशी, गण्डकी र लुम्बिनीमा ठूलो पानी पर्ने सम्भावना

काठमान्डौं, ४ असार । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अबका केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै तीन वटा प्रदेशका धेरैजसो ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । मनसुन सक्रिय भए पनि केही दिनदेखि सामान्य अर्थात् किसानका लागि उपयोगी हुने गरी मात्रै पानी परिरहेकोमा अबका केही दिन ठूलो पानीको सम्भावना रहेको हो ।

यस्तै अहिले देशका पश्चिमी भू–भागमा मध्यमदेखि ठूलाे पानी परिरहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटीलगायतका क्षेत्रहरूमा अहिले पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । यसैगरी दाङ, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूमा पनि हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

मनसुनी प्रणाली अहिले कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा सक्रिय रहेकाले आज राति यी प्रदेशहरूमा ठूलाे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेशका पनि केही ठाउँमा ठूलाे वर्षा हुनसक्ने सम्भावना छ । यसैबीच सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी क्षेत्रमा ‘ठूलो बाढी आउन सक्छ’ भन्ने हल्ला फैलिरहेको भए पनि अहिले त्यस्तो जोखिम नभएको महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस