पश्चिमका केही ठाउँमा रातिदेखि नै ठूलो बर्षा
काठमाडौँ, ६ असार । पश्चिमका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेपछि बाँके र बर्दियामा पर्ने बबई र कर्णाली तथा पाल्पा र बागलुङको नारायणी नदीमा बाढी आएको छ ।
बर्दियाको दौलतपुर, बर्गादही, राम्भापुर, रानीजरुवा र कुम्रा गाउँमा ठूलो पानी परेकाले ती क्षेत्रका मुख्य नदी लगायत ती क्षेत्र भई बहने खोलाहरूमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बाँके, गोरखा, लमजुङ्ग, कास्की, पर्वत, पाल्पा, बागलुङ्ग लगायत आसपासको क्षेत्रहरुमा मध्यमदेखि ठूलो पानी परेकाले त्यस क्षेत्रका नदी र खोला आसपासमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रवार