पहिलो पटक तातोपानी भन्सारबाट हेलिकप्टर आयात
काठमाण्डौँ, १९ असार । तातोपानी भन्सार नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गर्न लागिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले हेलिकप्टर जाँचपासका लागि आइपुगेको बताउनु भएको छ । तातोपानी भन्सार व्यवस्थापनको ठेक्का लिएको सिल्क ट्रान्स कम्पनीका शाखा प्रमुख अनिरुद्र थापा माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरेर उक्त हेलिकप्टर ल्याएको बताउनु भएको छ ।
उहाँले भन्सार प्रक्रिया पूरा गरेपछि एक–दुई दिनमा उडाएर काठमाडौँ लैजाने तयारी भइरहेको जानकारी दिनु भएको छ । उक्त हेलिकप्टरको भन्सार चार करोडभन्दा बढी पर्ने बताइएको छ । आयतकर्ता कम्पनी माउन्टेन हेलिकप्टर्सका रामचन्द्र भुसालले बिहीबार हेलिकप्टरको भन्सार जाँचपास गरिने बताउनु भयो । भुसालका अनुसार उक्त हेलिकप्टर एयर बस कम्पनीको हो । यो पर्यटन प्रयोजनकै लागि ल्याइएको हेलिकप्टर भएको बताइएको छ । चीनमा एयर बस कम्पनीको प्लान्ट तियाजिन सहरमा रहेको छ ।