२०८३ बैशाख २१ गते सोमवार | 2026 May 4th Monday

नागरिक उन्मुक्ति पार्टीद्धारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमान्डौं, २० असार ।  नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज दिउँसो बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिइएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएको थियो । मन्त्री चौधरीमाथि पावर टिल वितरणमा अपचलन गरेको आरोप रहेको छ । आफ्नो पार्टीका मन्त्रीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
यसैबीच, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्री चौधरीलाई बर्खास्त गर्नु अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण कदम भएको बताउनुभएको छ । अध्यक्ष श्रेष्ठले अब आफ्नो पार्टी सङ्घ र प्रदेश सबैतिर प्रतिपक्षमा बस्ने बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभामा चार जना, मधेश प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना सांसद रहेका छन् ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस