निर्माण पूर्वाधार विकासका लागि महासंघमा वालाजु श्रेष्ठको आवश्यकता
वालाजु श्रेष्ठको जन्म वि.सं. २०३६ साल पौष १० गते प्यूठान जिल्ला, प्यूठान नगरपालिका वडा नं. ४, विजुवारमा भएको हो। उहाँ वि.सं. २०६० सालदेखि आसु निर्माण सेवा (घ वर्ग) को इजाजतपत्र प्राप्त गरी निर्माण व्यवसायमा सक्रिय रहँदै आउनुभएको छ। विगतदेखि वर्तमानसम्म प्यूठानकै भूमिलाई कर्मथलो बनाउँदै व्यवसायलाई स्थापित र विस्तार गर्दै अगाडि बढ्नुपर्छ भन्ने दृढ सोचका साथ उहाँ निर्माण व्यवसायसँगै सामाजिक सेवा र संघ–संस्थामा पनि निरन्तर संलग्न रहनुभएको छ।
उहाँ प्यूठान उद्योग वाणिज्य संघको कोषाध्यक्ष तथा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। वि.सं. २०७१ सालमा उद्योग वाणिज्य संघ प्यूठानको अध्यक्ष पदमा उम्मेदवारी दिँदा झिनो मतान्तरले पराजित हुनुभएको थियो। हाल उहाँ प्यूठान उद्योग वाणिज्य संघको सल्लाहकार हुनुहुन्छ। मध्यपश्चिम विकास क्षेत्रको समयदेखि केन्द्रीय सदस्यका रूपमा कार्य गर्दै आउनुभएको उहाँ संघीयता पश्चात् लुम्बिनी प्रदेशबाट मनोनित केन्द्रीय सदस्यसमेत हुनुभएको छ।
नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारण सभा एवं अधिवेशनमा उहाँ आन्तरिक उपमहासचिव (केन्द्रीय पदाधिकारी) पदका उम्मेदवार बन्नुभयो तर झिनो मतले पराजित हुनुभयो। त्यसपछि महासंघको पहिलो बैठकबाट नै युवा र साना निर्माण व्यवसायीको हित तथा परिवर्तनका लागि आवाज उठाउने आवश्यकता महसुस गरी उहाँलाई नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित गरियो। यस क्रममा उहाँले नेपालको राजनीतिक, आर्थिक, सामाजिक अवस्था तथा भौतिक पूर्वाधार विकासका चुनौतीहरूलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुभयो।
युवा नेतृत्वको आवश्यकता
नेपाली निर्माण क्षेत्रलाई समृद्ध र दिगो आर्थिक विकासतर्फ लैजान अब पूर्वाधार विकासमा सक्षम, इमानदार र दूरदर्शी नेतृत्वको आवश्यकता छ। २६औँ साधारण सभा एवं अधिवेशनले युवा परिवर्तनको ऐतिहासिक मोडको प्रतिनिधित्व गर्दैछ। यही सन्दर्भमा वालाजु श्रेष्ठको भूमिका अत्यन्त महत्वपूर्ण देखिन्छ।
आसु निर्माण सेवाका सञ्चालक वालाजु श्रेष्ठ केवल सफल निर्माण व्यवसायी मात्र होइनन्, साना निर्माण व्यवसायीहरूको नेतृत्व गर्न सक्ने कर्मठ र दूरदर्शी युवा नेता हुनुहुन्छ। उहाँले सयौँ युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्न सफल हुनुभएको छ। निर्माण ठेक्का कार्यहरू तोकिएको समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्ने उहाँको कार्यशैलीले आर्थिक, राजनीतिक र सामाजिक पुनर्जागरणमा ठूलो योगदान पुर्याएको छ।
योगदान र संघर्ष
प्यूठान जिल्लामा सञ्चालित पुल, भवन र सडक निर्माणलगायतका दर्जनौँ योजनाहरू सम्झौताभन्दा अगावै सम्पन्न गरी उहाँ विभिन्न आयोजनाबाट सम्मानित हुनुभएको छ। झण्डै दुई दशकदेखि निर्माण क्षेत्रमा समर्पित रहनु उहाँको इमानदारिता, प्रतिबद्धता र नेतृत्व क्षमताको स्पष्ट प्रमाण हो।
निर्माण क्षेत्रमा देखिएका समस्या र संवेदनशील परिस्थितिमा नेपाल सरकारसँग निर्माणसम्बन्धी ऐन, कानुन र नियम संशोधनको माग गर्दै दबाबमूलक आन्दोलनमा उहाँ अग्रपङ्क्तिमा उभिनुभएको छ। नेपाल निर्माण व्यवसायी महासंघअन्तर्गत देशभरका निर्माण व्यवसायीको पक्षमा आन्दोलनको कमाण्डरको भूमिका निर्वाह गर्दै उहाँले केवल व्यक्तिगत माग होइन, सम्पूर्ण निर्माण व्यवसायीको अस्तित्व, पहिचान र भविष्यको आवाज राज्यसम्म पुर्याउनुभएको छ। यो योगदान इतिहासमा अंकित छ।
भविष्यको बाटो
दिगो आर्थिक विकास, निर्माण क्षेत्रको सुदृढीकरण र सामाजिक रूपान्तरणका लागि उहाँले कहिल्यै व्यक्तिगत जोखिमको परवाह गर्नुभएन। नीति र व्यवहारबीचको खाडल नजिकबाट बुझेका श्रेष्ठ आज पनि युवालाई रोजगारी र स्वरोजगारतर्फ उन्मुख गराउन निरन्तर क्रियाशील हुनुहुन्छ। आसु निर्माण सेवामार्फत उहाँले निर्माण उद्योगलाई व्यवस्थित र सफल व्यवसायको उत्कृष्ट उदाहरणका रूपमा स्थापित गर्नुभएको छ।
नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्व गर्न सक्ने, साना निर्माण व्यवसायीका दुःख–सुख आत्मसात् गर्ने तथा नीतिगत तहमा प्रभावकारी परिवर्तन ल्याउन सक्ने जुझारु नेतृत्वलाई अब महासंघको पदाधिकारीको जिम्मेवारी दिनु समयको माग हो। व्यवसायीमैत्री वातावरण निर्माण गर्दै निर्माण व्यवसायलाई उद्योगका रूपमा स्थापित गर्न वालाजु श्रेष्ठजस्तो अनुभवी नेतृत्व आज अपरिहार्य छ। यही नै जेन्जी आन्दोलनको मूल भावना हो।
निष्कर्ष
आगामी २६औँ साधारण सभा एवं अधिवेशनबाट वालाजु श्रेष्ठलाई महासंघको नेतृत्वदायी पदमा प्रतिनिधित्व गराइयो भने साना निर्माण व्यवसायी र नयाँ पुस्ताका निर्माण व्यवसायीका लागि नयाँ ढोका खुल्नेछ। युवाहरू रोजगारी खोज्न विदेश होइन, स्वदेशमै निर्माण तथा विकास आयोजनामा आबद्ध हुने वातावरण सिर्जना हुनेछ। भौतिक पूर्वाधार क्षेत्रमा सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने र सपना होइन, परिणाम दिने नेतृत्वको नाम हो—प्यूठानका वालाजु श्रेष्ठ।
निर्माण पूर्वाधार विकासका लागि युवा नेतृत्व महासंघमा वालाजु श्रेष्ठ नै आजको प्रमुख आवश्यकता हो।
लेखक : उहाँकी श्रीमती हुनुहुन्छ ।