२०८३ असोज १२ गते सोमवार | 2026 September 28th Monday

जनउत्थान लघुवित्तद्वारा मृतक सदस्यको कर्जा मिनाहा, परिवारलाई बीमा राहत

सल्यान ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लुहाम, सल्यानले आफ्ना मृतक सदस्यको कर्जा मिनाहा तथा बीमा रकम हस्तान्तरण गरेको छ।
त्रिवेणी गाउँपालिका–२ सालिभाङ निवासी ३३ वर्षीया सदस्य मिना थापाका श्रीमान् करण थापाको २०८२ साल ८ महिनाको २५ गते निधन भएपछि लघुवित्तले माईक्रो लाइफ इन्स्योरेन्स लिमिटेडमार्फत बीमा दाबी प्रक्रिया पूरा गरेको हो।
बीमा अन्तर्गत मृतक सदस्य परिवारको २ लाख ३९ हजार २७ रुपैयाँ बराबरको बाँकी कर्जा पूर्ण रूपमा मिनाहा गरिएको छ भने १५ हजार रुपैयाँ क्रियाखर्च सहयोगस्वरूप प्रदान गरिएको शाखाले जनाएको छ। साथै उक्त खातामा रहेको ७४ हजार ९६३ रुपैयाँ नगद बचत पनि परिवारलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा जनउत्थान सामुदायिक लघुवित्तका २२ जना सदस्यहरूको सहभागिता रहेको थियो। शाखाका कर्मचारी झलक बुढा तथा शाखा सञ्चालन अधिकृत खेमराज सार्कीले बीमा तथा कर्जा मिनाहा सम्बन्धी जानकारी दिँदै यस्ता सेवाले सदस्यको परिवारलाई आपतकालीन अवस्थामा ठूलो राहत पुग्ने बताए।
लघुवित्तले भविष्यमा पनि सदस्यहरूको हित र सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस