२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

डेंगी बढ्दै गएपछि लामखुट्टे समात्नेलाई पुरस्कार दिँदै फिलिपिन्स सरकार

काठमान्डौं, ७ फागुन ।  डेंगी बढ्दै गएपछि फिलिपिनी सरकारले लामखुट्टे समात्ने र मार्नेलाई पुरस्कार दिने भएको छ । डेंगी फैलिनबाट रोक्न घनाबस्ती भएका सहरी क्षेत्रका लागि यो योजना ल्याइएको फिलिपिनी अधिकारीहरूले बताएका छन्। हरेक पाँच वटा लामखुट्टे समाते वा मारेबापत एक पेसो फिलिपिनी मुद्रा दिइने एडिसन हिल्सका गाउँ प्रमुख कार्लितो केर्नालले घोषणा गर्नु भएको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने, यो योजनाको खिल्ली उडाइ रहेका छन् । तर, केर्नालले यसको बचाउ गर्नुभएको छ । सामुदायिक स्वास्थ्यका लागि यो जरुरी भएको उहाँको भनाइ रहेको छ । हालैका दिनहरूमा फिलिपिन्समा डेंगीको प्रकोप बढ्न थालेको छ । जसका कारण दुई जना विद्यार्थीको मृत्युसमेत भएको थियो । त्यसपछि यो अभियान चलाइएको हो । यो अभियान कम्तीमा एक महिनासम्म चल्ने बताइएको छ ।  पुरस्कार राशि जिउँदो वा मरेको दुवै लामखुट्टे अनि लार्भामा समेत लागू हुने बताइएको छ । योजना सुरु भएपछि अहिलेसम्म २१ जनाले लामखुट्टे समातेर वा मारेर पुरस्कार लिएका छन्। यस क्रममा लार्भासहित ७ सय ७० लामखुट्टे समातिएको समाचारहरूमा जनाइएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस