नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्र विजयी
काठमान्डौं, २८ चैत । नेपाल बार एसो सिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ । आज सार्वजनिक भएको मतपरिणाम अनुसार उहाँ २ हजार ४ सय ३१ मतान्तरले विजयी हुनु भएको हो । नेपाल बार एसो सिएसन निर्वाचन २०८१ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार प्रा.डा. मिश्रले ५ हजार ५२ मत प्राप्त गर्नु भयोभने, अध्यक्षका अर्का प्रत्यासी वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले २ हजार ६ सय २१ मत प्राप्त गर्नुभयो ।
नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्रको समूह र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबीच प्रतिस्पर्धा भएको थियो । निरालाका अनुसार उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद लिम्बू, मधेश प्रदेशमा अजयशङ्कर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भूपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवश कुमार बस्नेत, सुदूरपश्चिममा सिद्धराज ओझा, खुला महिलातर्फ सरस्वती श्रेष्ठ विजयी भएका छन् ।
महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले ४ हजार ८ सय ७४ मत प्राप्त गरी विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३ सय ६७ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित हुनु भएको छ। बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९ सय ९७ मतदाता रहेकामा ७ हजार ९ सय ९५ मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।