राजावादीले जलाएको जडिबुटी प्रशोधन केन्द्रमा उत्पादन कार्य सुरु
काठमाण्डौँ, २६ जेठ । राजावादीले अगजनी गरेको जडिबुटी प्रशोधन केन्द्रले उत्पादन कार्य सुरु गरेको छ । गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजवन्दीहरुको सभाले हिंसात्मक रुप लिँदा दुई जनाले ज्यान नै गुमाएको थिए भने कयौँ मानिसहरु घाइते हुनुका साथै सार्वजनिक तथा निजी संरचनाहरु तोडफोड र आगजनी गरिएको थियो ।
सो दिनको घटनामा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन । कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवनमा आगो लगाएर पूर्ण रुपमा प्रयोगविहीन नै बनाइएको थियो । कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारिकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरुले गर्ने र उत्पादित बस्तुको बजारीकरण देखिका कामहरु केन्द्रीय कार्यलयले गर्ने हुँदा सो घटनाको लगभग एक महिनासम्म सबै जसो काम ठप्प भएको कम्पनीका निमित्त महाप्रबन्धक उषा रिजालको भनाइ छ ।
अब कम्पनी सञ्चालन अहिले होला भन्ने निराशाकाबीच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको उहाँले बताउनु भएको छ । यस कार्यका लागि वन तथा वातवरण मन्त्रालयको सहजीकरण र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा शिसा राख्न सहयोग गरेको र उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरेको रिजालले बताउनु भएको छ । आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेशिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन । अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन भइरहेको रिजालको भनाइ छ ।