माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश
काठमाडौँ, १२ असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई धरौटी माग भएको छ । विशेष अदालतमा आज सकिएको थुनछेक बहसपछि नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको प्रवक्ताले जानकारी दिनुभयो ।
नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीले उहाँलाई बिनाशर्त रिहाइ गर्न माग गरेका थिए । सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोले नेपालविरुद्ध पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गरेर आर्थिक हिनामिनाको आरोपमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा बुधबार बयान र थुनछेक बहस सकिएसँगै उनलाई धरौटीमा छाड्ने आदेश भएको हो । नेपाललाई विशेष अदालतले तारेखका लागि साउन १३ गते बोलाएको छ ।गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई विपक्षी बनाउँदै हदबन्दीभन्दा बढी जग्गा कम्पनीका नाममा बिक्री वितरण गर्न दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।