सल्यानको दार्मामा पुल नहुँदा समस्या, विप्लव नेकपाले जनश्रमदानबाट अस्थायी पुल बनाउँदै
सल्यान
सल्यानको मौलोहाले–फारूलाचौर सडकखण्ड अन्तर्गत मासुगार खोलामा अस्थायी पुल निर्माण कार्य सुरु गरिएको छ । खोलामा पैदल तथा मोटरसाइकल हिड््न बनाइएको पुल जीर्ण भएर प्रयोग गर्न नमिल्ने भएपछि सो क्षेत्रमा आवजात गर्न समस्या भएको हो ।
यातायात सहज बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दार्मा गाउँकमिटीले अस्थायी पुल निर्माण कार्य अघि बढाएको छ । सो क्रममा गाउँकमिटीले श्रमदानमार्फत सहयोग गर्न स्थानीयवासीलाई अपिल गरेको छ ।
गाउँकमिटीद्वारा जारी अपिलपत्रमा भनिएको छ–“यस सार्वजनिक सरोकारको कार्यक्रममा सहभागी भई आफ्नो तह र स्तरबाट योगदान दिनु सबैको सामाजिक जिम्मेवारी हो ।”
सोमबारबाट जग खन्ने काम भएको र भोलीबाट निर्माणको काम थालनी हुने पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य मोहन केसीले जानकारी दिए । आफुहरुले सबै राजनीतिक दल तथा स्थानीयलाई श्रमदान जोडिन अनुरोध गरेको भन्दै उनले १ हप्तामा निर्माणको काम सम्पन्न गरिने बताए ।
जनश्रमदानमार्फत भइरहेको पुल निर्माणले स्थानीयवासीलाई आवतजावतमा सहजता दिलाउने अपेक्षा गरिएको छ । साथै, यसले सामुदायिक एकता र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास पनि लिइएको छ ।