कृषकको घर–दैलोमा पुग्दै एनएलजी इन्स्योरेन्सको बीमा सचेतना अभियान
सल्यान ।
कृषकको टोल–टोल तथा घर–घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सिद्धकुमाख गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा सम्पन्न गरेको छ।
कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले विभिन्न स्थानमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाका प्रमुख अनुराग बोहराले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि सिद्धकुमाख गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष चुडामणि रेउलेले कार्यक्रममा सहभागी कृषकलाई प्राप्त बीमा सचेतनालाई टोल–टोलमा पु¥याई व्यापक रूपमा फैलाउन आग्रह गर्नुभयो। उहाँले कृषि तथा पशुपन्छी बीमा कृषकका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै बीमा गरेमा कृषकलाई ठूलो राहत र फाइदा पुग्ने बताउनुभयो। साथै, वडामा भइरहेका उदाहरणीय विकासका कार्यसँगै अब बीमालाई पनि उच्च प्राथमिकतामा राखी वडावासीलाई बीमाको दायरामा ल्याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा एनएलजी इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहराले कार्यक्रममा सहभागी विभिन्न तह र तप्काका व्यक्तित्वप्रति धन्यवाद व्यक्त गर्नुका साथै छलफलका क्रममा उठेका जिज्ञासाहरूको स्पष्ट जवाफ दिनुभयो। उहाँले एनएलजी इन्स्योरेन्सले गाउँ–गाउँमा पुगेर कृषकलाई बीमाको दायरामा ल्याउने अभियान अन्तर्गत विगत केही वर्षदेखि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको र यसबाट सकारात्मक तथा प्रभावकारी परिणाम देखिन थालेको बताउनुभयो।
छलफल कार्यक्रमकै क्रममा कृषि तथा पशुपन्छी बीमा दाबी अन्तर्गत १२ जना कृषकलाई दाबी भुक्तानी वितरण गरिएको थियो। साथै, दाबी भुक्तानी प्रक्रियालाई अझ पारदर्शी र सहज बनाउन यही माघ १ गतेदेखि दाबी भुक्तानी अनलाइन माध्यमबाट मात्र उपलब्ध गराइने जानकारी दिइएको थियो।
नेपाल सरकारले कृषकलाई प्रदान गर्ने बीमा शुल्कमा ८० प्रतिशत अनुदानको सुविधाको लाभसँगै कृषकलाई बीमाको दायरामा ल्याउन आफू निरन्तर रूपमा खटिरहेको र आगामी दिनहरूमा पनि यस अभियानलाई थप निरन्तरता दिने शाखा प्रमुख बोहराले जानकारी दिनुभयो। कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया तथा यसको महत्त्वबारे समेत विस्तृत जानकारी गराइएको थियो।

कार्यक्रममा सहभागी अन्य अतिथिहरूले पनि कृषि तथा पशुपन्छी बीमाको आवश्यकता, यसको महत्त्व तथा कृषकको आर्थिक सुरक्षामा यसले पुर्याउने योगदानबारे धारणा राखेका थिए।
कार्यक्रममा सिद्धकुमाख गाउँपालिका वडा नं. ५ का विभिन्न टोलबाट ४० जनाको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन एनएलजी इन्स्योरेन्सका अभिकर्ता हरि बहादुर रेउलेले गर्नुभएको थियो।
कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्सका शाखा प्रमुख भरत रोकाय, सिटिजन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख छविलाल थापा, वडा सदस्य झुपलाल बोहरा, पशु प्राविधिक टिका बस्नेत, कृषि प्राविधिक तिला रेउलेलगायतको आतिथ्यता रहेको थियो।