‘क्लिक सल्यान’ फोटो वाक कार्यक्रम खैराबाङ्ग मन्दिरमा सम्पन्न
सल्यान।
राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको ‘क्लिक सल्यान’ (फोटो वाक) कार्यक्रम
सम्पन्न गरेको छ । आइतबार जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल खैराबाङ्ग मन्दिर परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।
समूहका अध्यक्ष अमृत बाबु बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समूहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रकाश भण्डारीले जिल्लाको पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । सल्यानका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थललाई तस्बिरका माध्यमबाट प्रचारप्रसार गर्दा पर्यटक आकर्षित गर्न र जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले यस्ता सिर्जनात्मक अभियानले जिल्लाको पर्यटन विकासमा सकारात्मक टेवा पुर्याउने विश्वास व्यक्त गर्दै राष्ट्रिय फोटो पत्रकार समूहको प्रयासको प्रशंसा गर्नुभयो ।
त्यस्तै, समूहका अध्यक्ष अमृत बाबु बुढाथोकीले सल्यान जिल्लाका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीयस्थलको तस्बिरमार्फत प्रचारप्रसार गरी जिल्लाको पर्यटन सम्भावना उजागर गर्ने उद्देश्यले ‘क्लिक सल्यान’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । फोटो पत्रकारितामार्फत जिल्लाका ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई चिनाउने र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने समूहको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमका अवसरमा समूहका पदाधिकारी तथा सदस्यहरूलाई संस्थागत पहिचानका लागि टिसर्ट तथा परिचयपत्र (आईडी कार्ड) समेत वितरण गरिएको थियो ।
जिल्लाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले समूहले ‘क्लिक सल्यान’ कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका पदाधिकारी सदस्य लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजिकरण सहसचिव कमल धितालले गर्नुभएको थियो ।