२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

राजनीतिक दल र उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भयो, प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमान्डौं, ७ फागुन  ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको छ । आज नवौं निर्वाचन दिवस २०८१ का अवसरमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले, निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरूले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो ।

चुनावको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ रहेको छ । चुनावमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो । नागरिक सचेत भएमा मात्र चुनाव सफल हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले उल्लेख गर्नुभयो । 

‘निर्वाचनको प्रभावकारिता, निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता’ भन्ने मुख्य नाराका साथ मनाइएको नवौं निर्वाचन दिवसका अवसरमा ‘निर्वाचन स्मारिका २०८१’ र ‘नेपालको निर्वाचन इतिहास–३’ पुस्तक विमोचन गरिएको छ । यस्तै दोलखा, स्याङ्जा, डडेल्धुरामा जिल्ला निर्वाचन कार्यालयको भवन उद्घाटन गरिएको छ । त्यस्तै हरेक प्रदेशबाट समान एक जना र आयोगका तीन जना गरी १० जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस