२०८३ भाद्र ४ गते बिहिवार | 2026 August 20th Thursday

संविधान संशोधनका लागि एक महिनाभित्रै कांग्रेस र एमालेको संयन्त्र बन्ने, ने.का. उपसभापति खड्का 

काठमान्डौं, १९ फागुन ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि एक महिनाभित्रै कांग्रेस र एमालेको संयन्त्र बन्ने बताउनु भएको छ । 

उहाँले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल भइरहेको भन्दै संयन्त्र बनाएर काम अघि बढ्ने बताउनु भयो । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको तयारीबारे भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपसभापति खड्काले दुई दलबीच संयन्त्र बनेर छलफल सुरू भएपछि सरकारमा सहभागी र त्यसपछि प्रतिपक्षी दलहरूसँग छलफल थाल्ने बताउनु भयो । उहाँले संविधानलाई सबैको साझा, प्रगतिशील र समावेशी बनाउने गरी संशोधनका विषयमा छलफल गर्ने पनि बताउनु भयो । 

एक फरक प्रसंगमा उहाँले संसदमा पेश भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक केही परिमार्जन सहित पारित हुने बताउनु भयो । संविधानले दिएका अधिकारलाई रक्षा गर्दै सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गर्न खोजिएको उहाँको भनाइ रहेको थियो । 

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस