२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

सन् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भूभागको चुच्चे नक्शा कायम हुँदै

काठमान्डौं, ७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक पु¥याउन महाकाली कोरिडोर मार्फत पूर्वाधारको निर्माण कार्य भइरहेको जानकारी दिनुभएको छ । 

आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडकका लागि दार्चुलादेखि तुषार पानीसम्म ४३ किलोमिटर सडक खण्ड निर्माण भइरहेको सदनलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले तुषार पानीदेखि टिङ्कर नाकासम्म झन्डै ७९ किलोमिटर सडकमा नेपाली सेनामार्फत काम भइरहेको बताउनुभयो । अहिलेसम्म झन्डै १२ किलोमिटर ’ट्र्याक’ खन्ने काम सम्पन्न भएको र बाँकी खण्डको काम छिट्टै सम्पन्न हुने जानकारी गराउने कुरा उल्लेख गर्नुभयो । यस्तै प्रधानमन्त्री ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह ई.पी.जी. को प्रतिवेदन दुवै पक्षको समझदारी मार्फत बुझ्न सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले  ई.पी.जी. प्रतिवेदन बुझ्ने सम्बन्धमा यसअघिका भेटघाटमा मित्रराष्ट्र भारत सरकारको उच्च तहमा यो विषय उठाइएको पनि जानकारी दिनुभयो । उहाँले अन्य सन्दर्भमा कूटनीतिक पहल भइरहेका बताउनुभयो ।

यस्तै नेपालको चुच्चे नक्शाको विषयमा जवाफ दिँदै उहाँले इस्वी संवत् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भूभागको नक्शा अहिले कायम रहेको नक्शा नै यथार्थ भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस