भावी सन्ततिका लागि सम्पदाहरु पूर्खा र इतिहासलाई बुझ्ने महत्वपूर्ण कडी, राष्ट्रपति पौडेल
काठमान्डौं, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको विकास र संरक्षण गर्न तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । आज ललितपुर महानगर पालिका १६ पाटन दरबारमा पुनर्निर्माण गरिएको देगु तलेजु मन्दिरको समद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले देशभर रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र पहिचान भएको उल्लेख गर्नुभयो । उहाँले अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं प्रकृतिको वरदानको रुपमा कयौँ रमणीय स्थलहरु रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थलहरु नेपालको सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भावी सन्ततिका लागि सम्पदाहरु पूर्खा र इतिहासलाई बुझ्ने महत्वपूर्ण कडी भएको समेत जिकिर गर्नुभयो ।