२०८३ साउन १५ गते शुक्रवार | 2026 July 31st Friday

महिला टी–२० विश्वकप एशिया क्वालिफायरको लागि दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट

काठमाण्डौँ, ३० चैत्र । आउँदो महिना थाइल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एशिया क्वालिफायरको लागि दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट भएका छन् । क्वालिफायरको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले झण्डै दुई हप्ताअघि प्रशिक्षण क्याम्पका लागि २८ खेलाडीलाई बोलाएको थियो । त्यसबाट दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट गरिएको क्यानले जनाएको छ ।

दोस्रो चरणको प्रशिक्षणमा छनोट हुने खेलाडीहरुमा इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, यशोदा विष्ट, रुबी पोदार, राजमती ऐरी, काजल श्रेष्ठ, पुजा महतो, कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, सोमु विष्ट, मनिषा उपाध्याय,रचना चौधरी, सीता राना मगर, सिमाना केसी र रिया शर्मा छन् ।

आउँदो ‘मे’ ७ देखि २१ तारिखसम्म सञ्चालन हुने एशिया क्वालिफायरमा नेपालसहित ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन–जुलाईमा इंग्लयाण्डमा हुने महिला टी २० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस