२०८३ भाद्र ४ गते बिहिवार | 2026 August 20th Thursday

तत्काललाई हट्यो सत्ता गठबन्धन फेरिने जोखिम

काठमाडौँ, ५ वैशाख । नेपाली कांग्रेसका दुई जना महामन्त्रीबाट केही दिनदेखि भइरहेको सरकारको आलोचना, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढल्ने दाबी, राष्ट्र बैंकका गभर्नर नियुक्तिमा ढिलाइ लगायतका कारण चलेको सत्ता गठबन्धन फेरिने चर्चा तत्कालका लागि साम्य भएको छ ।

मङ्गलवारदेखि सञ्चारमाध्यम,सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तत्कालै राजनीतिमा केही फरक हुँदैछ भनेर चर्चा चलेकोमा हिजो सत्ता गठबन्धन फेरिने सम्भावना बढेको चर्चा भएको थियो । तर मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता,उच्चस्तरीय संयन्त्रको बैठक हुँदै बसेको कांग्रेस पदाधिकारी र कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको बैठकपछि सत्ता गठबन्धन फेरिने चर्चा हटेको हो ।

कांग्रेसको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको गति बढाउनुसँगै गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको जानकारी दिँदै सत्ता गठबन्धन फेरिने कुनै कारण नरहेको बताउनुभयो । बैठकमा पार्टी सभापति देउवाले प्रधानमन्त्री ओलीले गभर्नरको नाम दिन भनेका र आफूले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम दिएको जानकारी गराउनुभएको सहभागी नेताले बताएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस