२०८३ भाद्र ३ गते बुधवार | 2026 August 19th Wednesday

क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय सम्झौतामा किन बसेनन ?

काठमाण्डौँ, १ जेठ ।  बुधबार दिउँसो नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर तथा पूर्वकप्तान सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने भनेर सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेखेका थिए । उनले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको समेत बताउँदै राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने स्पष्ट पारेका थिए ।

उनको उक्त निर्णयले नेपाली क्रिकेट समर्थक र केही विश्लेषकमाझ भने तरंग नै पैदा गरेको थियो । केन्द्रीय सम्झौतामा समावेश नभए पनि उनी नेपालबाट खेलिरहने छन् । कतिपयले उनको यस कदमलाई स्टन्ट भएको तर्क दिएका छन् भने कतिले सन्दीप क्यानसँग रिसाएको, टोलीभित्रै एक्लिएको लगायतका टिप्पणी गरेका छन् । वास्तवमा भन्नुपर्दा यी सबै अनावश्यक तर्कहरू हुन् । केन्द्रीय सम्झौतामा समावेश नभए पनि देशका लागि खेल्ने सन्दीप पहिलो खेलाडी होइनन् । यसअघि विश्वचर्चित खेलाडीहरू पनि केन्द्रीय सम्झौतामा समावेश गरिएका छैनन् ।

फरक यति हो कि यहाँ सन्दीप आफैंले केन्द्रीय सम्झौता छाडेका छन् भने  अन्य धेरै चर्चित खेलाडीहरू भने क्रिकेट बोर्डबाटै सम्झौतामा परेका हुँदैनन् । कतिपयले सन्दीपजस्तै आफैं सम्झौतामा समावेश नहुने निर्णय लिन्छन् ।न्युजिल्याण्डका पूर्वकप्तान केन विलियमसन, पेस बलर ट्रेन्ट बोल्ट, वेस्ट इन्डिजका निकोलस पूरन र आन्द्रे रसेल, इंग्ल्याण्डका जेसन रोयलगायतका विश्वचर्चित खेलाडीहरूले पनि केन्द्रीय सम्झौतामा समावेश नहुने भनेर निर्णय लिएका छन् । सन्दीपको मामिलामा भने अब उनले पहिल्यै प्रशस्त कमाइसकेकाले क्यानको आर्थिक भार घटाउन यो निर्णय लिए वा कप्तानी नपाएको झोंकमा यो निर्णय लिए भन्ने किसिमका जुन् टिप्पणी भइरहेका छन् ती सबै अनावश्यक कुराको बहस नै हो भन्ने देखिन्छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस