जुडो च्याम्पियनशिपमा भाग लिन नेपाली टोली बङ्गलादेश प्रस्थान
काठमान्डौं, ८ जेठ । बङ्गलादेशमा जुडो च्याम्पियनशिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् रा.खे.प. का सदस्य–सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमका बीच बिदाइ गर्नुभएको हो । आउँदो आइतवार र सोमवार हुने प्रतियोगितामा नेपालबाट ७ पुरुष र ५ महिला गरी १२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली लगायत रहेका छन् । यस्तै महिला ४४ केजीमुनि समिता नेपाली, ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली, ५७ केजीमुनि पेमा याङजी शेर्पा र ६३ केजीमुनि रेखा श्रेष्ठ रहेका छन् ।
यसैबीच, सहभागी १२ जना खेलाडीमध्ये समिता, निशा, विनिता, पेमा र सविनसहित ५ जना बन्दी सहायता नियोग पामका हुन् । टोलीको प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिनुभयो ।