गृहमन्त्री लेखकको राजीनामा माग्नु निराधार र अनुचित, प्रधानमन्त्री ओली
काठमान्डौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताउनु भएको छ । आज एक मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटम लाइन) राखेर सदन अवरोध गर्न नहुने बताउनु भयो ।
उहाँले बच्चाहरुले झोला वा खेलौनौ हात्ती किनिदेउ भन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताउनु भयो । कुनै पार्टीभित्रका समस्या मानिसका आकाङ्क्षाहरु हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई डिष्टर्ब हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह रहेको थियो ।