वातावरणको सम्बन्धमा सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिने, ने.का. सभापति देउवा
काठमान्डौं, १८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा नेपाली कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार रहेको बताउनु भएको छ । विश्व वातावरण दिवसको सन्दर्भमा पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आज आइतबार पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रममा सभापति देउवाले राजनीतिक दलहरूलाई एउटै साझा मञ्चमा ल्याएर संवाद, सहमति, समन्वय र सहकार्यका माध्यमबाट अघि बढ्ने वातावरण तयार गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
सभापति देउवाले जलवायु संकट समधानमा अगाडिको बाटो चुनौतीपूर्ण भएपनि समाधानको सम्भावनाले भरिएको पनि बताउनु भयो । सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा पुष्टि हुनु जलवायु संकटको चेतावनी भएको बताउँदै उहाँले अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रूपमा लिएर विश्वले कार्बन उत्सर्जनमा तीव्र कटौती गर्न आवश्यक रहेको बताउनु भयो । नेपालले जलवायु न्यायको लागि विश्व समुदाय समक्ष आफ्नो स्पष्ट धारणा राखिरहनु पर्ने देउवाले बताउनु भयो । यसैगरी, बेलायतमा सम्पन्न कोप २६ मा नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य घोषणा गर्दा आफूले नेतृत्व गरेको देउवाको भनाइ रहेको थियो ।