२०८३ बैशाख २३ गते बुधवार | 2026 May 6th Wednesday

चाकडीवादी :

ऊ जाना जान गल्ती गर्छ,
तर चाकडीवादीहरू उसलाई स्याबासी दिन्छन् ।
मन्द मुस्कानले प्रफुल्ल हुँदै,
ऊ चाकडीवादीहरूलाई धन्यवाद दिने गर्छ ।
सर्वहाराहरू उसलाई हार गुहार गर्छन्,
तर ऊ चाकडीवादीहरूकै भूमरीमा,
सरकारी योजनाहरूको दुरुपयोग गर्ने गर्छ ।

चाकडीवादीहरूले
चम्चा बोक्ने चम्चेहरूले
सामाजिक सञ्जालहरूमा
गरेको उसको जय जयकारले
खुशीले ऊ तीन फन्को नाच्छ !

अरे यार, अाज क्या गाईजात्रा छ नगरमा ?
चाकडीवादी र ममाईवादीको ?
यता चाकडीवादीहरू उसको चाकडी गर्छन्
उता बागदरवार र स्यालदरवारमा गएर
ऊ ममाईवादी भएर
फ्याउरा र स्यालहरूको पाउहरूमा
जोडेर चार हातखुट्टा
ऊ लम्पसार पर्छ ।

देखेर यो बेमौसमी गाईजात्रा
उसले पहिरेको राष्ट्रिय पोशाकले
उसले लगाएको चस्माले
ऊ चढेको सेतो नम्बर प्लेटको गाडीले
लाजले पनि लाज मानेर
बसाइँ सरेका छन् रे !

अरे यार, अब गाईजात्रा हेर्न
तिथी मितिहरू कुर्नु नपर्ने भएछ !
अाज बस्ती बस्तीहरूमा
नगर नगरहरूमा
चाकडीवादी र ममाईवादीहरू
तँछाड मछाड गरी
रिलेदौड दौडिरहेका छन् !

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस