वास्तविक चालक जोगाएर अर्कैलाई जेल पठाएको आरोप, सल्यानका तत्कालीन डीएसपी केसी सहितका छानबिनमा
भाद्र २५, सल्यान
सल्यान — पाँच जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको अनुसन्धानमा गम्भीर त्रुटि भएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानका तत्कालीन प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ छानबिनमा तानिएका छन् ।
दुर्घटनाका वास्तविक चालकलाई उन्मुक्ति दिएर आर्थिक प्रलोभनमा अर्कै व्यक्तिलाई चालकका रूपमा खडा गरी मुद्दा चलाइएको आरोपपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो ।
२०८२ असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित राप्ती राजमार्गमा लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनाको अनुसन्धानका क्रममा वास्तविक चालकलाई जोगाएर कपुरकोट–३ डाँडागाउँका ३८ वर्षीय कर्णबहादुर खड्कालाई ‘नक्कली चालक’ का रूपमा खडा गरी मुद्दा चलाइएको आरोप छ । आर्थिक लेनदेनमा आफूलाई चालक बनाएर जेल पठाइएको खड्काको दाबी छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार घटनामा तत्कालीन डीएसपी केसी, इन्स्पेक्टर गुरुङ, सवारी धनी बसन्त केसी, वास्तविक चालक देवबहादुर बिक लगायतको भूमिकामाथि अनुसन्धान भइरहेको छ । उजुरी परेपछि विशेष सुरक्षा गण नेपालगन्जका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिले सल्यान पुगेर अनुसन्धान तथा बयान लिइरहेको छ ।
‘ठूलो गडबडी भएको भन्ने बुझिएको छ । सबैको मिलेमतोमा गएको देखिन्छ,’ सापकोटाले भने, ‘नक्कली चालकलाई आठ लाख रुपैयाँ दिने सहमति भएको रहेछ । तर अहिलेसम्म आधा मात्र पैसा दिएको बुझिएको छ ।’ उनका अनुसार दुर्घटनापछि सुरुमा वास्तविक चालक पक्राउ परेका थिए । पछि पैसा दिने आश्वासनमा अर्कै व्यक्तिलाई चालकका रूपमा खडा गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट दाङको घोराहीतर्फ जाँदै गरेको गाडी दुर्घटनापछि चालक फरार भएको प्रहरीको भनाइ थियो । मृतकका आफन्त भद्रबहादुर केसीले असोज २० गते इलाका प्रहरी कार्यालय लुहाममा चालकविरुद्ध जाहेरी दिएपछि असोज २४ गते चालक पक्राउ परेका थिए । तर पछि वास्तविक चालकलाई सहचालकका रूपमा देखाएर खड्कालाई चालक बनाइएको आरोप छ । खड्कालाई असोज २९ गते पक्राउ गरी मुद्दा चलाइएको थियो ।
खड्काका अनुसार उनलाई चार लाख रुपैयाँ दिने र २२ दिनभित्र जेलबाट निकालिदिने आश्वासन दिइएको थियो । श्रीमती गर्भवती भएकाले आर्थिक समस्यामा रहेका उनी रकम र छिट्टै छुट्ने आश्वासनमा नक्कली चालक बन्न तयार भएको बताउँछन् । ‘हाम्रो लाइसेन्स छैन, तपाईंसँग लाइसेन्स छ । हाम्रो यत्रो क्षति भएको छ, केही राहत होला । तपाईंले यो काम गरिदिनुभयो भने चार लाख रुपैयाँ आउँछ भनियो,’ उनले भने ।
उनका अनुसार उनलाई चार लाख रुपैयाँ नगद दिइयो र बयानका क्रममा के बोल्ने भन्ने विषयमा समेत सिकाइयो । तर अदालतले उनलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला गर्यो । जिल्ला अदालत सल्यानका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले २०८२ माघ ७ गते उक्त फैसला गरेको हो । खड्का ११ महिनादेखि सल्यान कारागारमा छन् ।
‘मलाई त आज निकाल्छन्, भोलि निकाल्छन् भन्ने लागेको थियो । तर अदालतले तीन वर्ष कैद सुनायो । म त छाँगाबाट खसेजस्तो भएँ,’ उनले भने । आफूले गाडी धनीलाई नचिनेको र दुर्घटनामा आफ्नो कुनै संलग्नता नरहेको उनको दाबी छ ।
खड्का जेलमा रहेकै बेला २०८२ मंसिर २२ गते उनकी श्रीमती बिमला केसीले काठमाडौंमा छोरी जन्माइन् । बिमलाका अनुसार उनका श्रीमान् दुर्घटनाको वास्तविक चालक नभए पनि उनलाई चालकका रूपमा प्रस्तुत गरिएको हो । उनले घटनाको पुनः निष्पक्ष अनुसन्धान गरी वास्तविक चालक को थियो भन्ने यकिन गर्न माग गरेकी छन् । ‘अहिले श्रीमान् जेलमा हुनुहुन्छ, छोरी बिरामी छिन्, अप्रेसन गर्नुपरेको छ । पैसा पनि सकियो, अब हामीले के गर्ने?’ उनले भनिन् ।
डीआईजी सापकोटाका अनुसार वास्तविक चालकलाई कुन अवस्थामा पक्राउ गरिएको थियो, पछि कसरी सहचालक बनाइयो, खड्कालाई कसले चालकका रूपमा खडा गर्यो र आर्थिक लेनदेनमा कसको भूमिका थियो भन्ने विषयमा छानबिन भइरहेको उनले बताए ।
छानबिन समितिमा प्रहरी निरीक्षक बजिरसिंह विष्ट र रेवन्त सेनलगायत चार जना छन् । समितिले कारागारमा रहेका खड्काको समेत बयान लिएको छ । समितिलाई १५ दिनको समय दिइएको सापकोटाले बताए ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डीएसपी केसीको बयान समितिले लिएको स्रोतले जनाएको छ । तत्कालीन इन्स्पेक्टर गुरुङलाई पनि झिकाएर बयान लिने काम भइरहेको छ । केसीसँग प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क गर्दा फोन उठेन । गुरुङले भने आफूले गरेको अनुसन्धान सही रहेको दाबी गर्दै अहिले आफू नै छानबिनको दायरामा रहेकाले थप बोल्न नमिल्ने बताए ।
‘समितिको प्रतिवेदनका आधारमा प्रहरीलाई कारबाही गर्नुपर्ने देखिए कारबाही हुन्छ,’ सापकोटाले भने, ‘निर्दोषले सजाय पाउनु हुँदैन र दोषीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा नेपाल प्रहरी सजग छ ।’
पाँच जनाको ज्यान गएको दुर्घटनामा वास्तविक चालक को थिए र अनुसन्धानका क्रममा अर्को व्यक्तिलाई चालक बनाएर मुद्दा चलाइएको हो वा होइन भन्ने प्रश्नको जवाफ अब छानबिन समितिको प्रतिवेदनले दिनेछ ।
-कान्तिपुरबाट साभार