२०८३ कार्तिक १५ गते शनिवार | 2026 October 31st Saturday

सल्यानमा एकैदिन दुई छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु, १८ घाइते

सल्यान ।

सल्यानमा शुक्रबार साझ भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १८जना घाइते भएका छन्। सिद्ध कुमाख गाउँपालिका–२ रातामाटामा जिप दुर्घटना हुँदा तीन जनाको र बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सिद्ध कुमाखमा भएको दुर्घटनामा परी गाउँपालिका–२ का ४३ वर्षीय साउने रोका, ४३ वर्षीया कृष्णी बस्नेत र ४५ वर्षीया सीता विकको मृत्यु भएको छ। उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।
शारदा नगरपालिका–१ श्रीनगरबाट सिद्ध कुमाख गाउँपालिका–२ टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप शुक्रबार साँझ करिब ६ः३५ बजे रातामाटास्थित भित्री सडकबाट झन्डै १ सय ५० मिटर तल खोलामा खसेको थियो।
यस्तै, शुक्रबार राति बनगाड कुपिण्डे नगरपालिका–११ गरामा भएको बोलेरो दुर्घटनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मलारानीका २५ वर्षीय पप्पु डाँगीको मृत्यु भएको छ। उनको सुर्खेतस्थित मेहेलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
खलंगा–बालुवा संग्राही सडकखण्डमा चौरबाट बालुवा संग्राहीतर्फ आउँदै गरेको रा १ च १७२३ नम्बरको डबल क्याब बोलेरो राति करिब ८ः४० बजे सडकबाट झन्डै १ सय मिटर तल खसेको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार सिद्ध कुमाखमा घाइते भएका चार जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। दुई जनाको नेपालगन्जमा उपचार भइरहेको छ भने १ जनाको सल्यानमै उपचार भैरहेको छ । बनगाड कुपिण्डेमा घाइते भएकाहरूको नेपालगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको उहाले बताउनुभयो ।
दुवै दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डीएसपी पातलीले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस