छत्रेश्वरी गाउँपालिकाको चिनारी
परिचय
कर्णाली प्रदेश अन्र्तगत सल्यान जिल्लाको मध्य पूर्वी भागमा अवस्थित समुद्री सतहबाट ८३९ मिटरदेखि २८०० मिटरसम्मको उचाइमा अवस्थित छ । सङ्घीय संरचनाअनुसार छत्रेश्वरी गाउँपालिकामा ७ वटा वडा रहेका छन् । साविकका दमाचौर, कोर्बाङझिम्पे, लेखपोखरा र छायाछेत्र गाविस मिलाएर २०७३ साल फगुन २२ गते छत्रेश्वरी गाउँपालिका स्थापना भएको हो ।
यस गाउँपालिकाको नामकरण छत्रेश्वरी रहनुमा साविकको छायाक्षेत्र गाविसमा रहेको छायाक्षेत्रस्थित प्रख्यात छत्रेश्वरी देवीको मन्दिरको नामबाट कायम भएको हो । यो मन्दिर सल्यान जिल्लामाा मात्र नभई देशैभर प्रख्यात छ; जसको बारेमा श्री स्वस्थानी व्रतकथामा समेत उल्लेख गरिएको पाइन्छ ।
सल्यान जिल्लानको एउटा अचम्मको जैविक विविधता बोकेको क्षेत्र हो, छत्रेश्वरी । छत्रेश्वरी जिताठानाका आँपदेखि दमाचौर दहखोला सुन्तला, गुराँसेका स्याउ र किबी यसै क्षेत्रमा पाइन्छन् ।

सतीदेवीको अन्तिम अङ्ग पतन भएकाे ‘छायाँक्षेत्र’
छत्रेश्वरी मन्दिर सल्यान जिल्लाको सदरमुकाम खलङ्गादेखि दक्षिणतर्फ करिब १५ किलोमिटर टाढा गरिज्यूलाको समथर फाँट र पवित्र शारदा नदीको पूर्वी–भागमा १३०० मिटर उचाइको थुम्कोमा करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको छायाक्षेत्रमा क्षत्रेश्वरी मन्दिर अवस्थित छ । शिखर शैलीमा रहेको यस मन्दिर वि.सं. १९९० को दशकमा शिव मन्दिरको रूपमा स्थापित भएको थियो । मन्दिर जीर्ण बन्दै गएपछि वि.सं. २०३७ सालमा नागाबाबाले मन्दिरको जीर्णोद्धार गरेका थिए । यस मन्दिरले सल्यान जिल्लाको सांस्कृतिक र धार्मिक गौरवगाथा बोकेको छ ।
श्रीस्वास्थानी व्रतकथामा उल्लेख भएअनुसार सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्वभ्रमण गर्दा सतीदेवीको अन्तिम अङ्ग यही छायाक्षेत्रमा पतन भएर छत्रेश्वरी देवी, सुकमोला योगिनी, पिशाचेश्वर महादेव प्रकट हुनुभएको कथा छ । छायाक्षेत्र धार्मिक पर्यटनको लागि गन्तव्य स्थान हो । नेपालका सबै शक्तिपीठहरूमध्ये बलि नचढाइने एक मात्र शक्तिपीठ हो, सल्यान छायाक्षेत्रको क्षत्रेश्वरी देवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवले पूजा आराधना गरेकाले कुनै पनि अवसरमा बलि नचढाइने गरेको कथन पाइन्छ ।
छत्रेश्वरी मन्दिर परिसर उत्तरतर्फ एउटा ठूलो शिला छ, जहाँ सतीदेवीको सम्पूर्ण अङ्ग पतन भएको थियो । अङ्गपतन भएको शिलामा आँखाले अवलोकन गरे सल्लानको गाउँबस्ती देख्न सकिन्छ । यस मन्दिर क्षेत्रमा सानो छाप्रा रहेको स्थानमा पहिले सरयु बाबा बस्ने गर्नुहुन्थ्यो । त्यसपछि त्यहाँ विस्तारै धार्मिक सत्संग गर्ने परम्पराको सुरुआत भयो । यस स्थानको महिमा बढ्दै गएपछि भारतको गुजरातबाट नागाबाबा प्रेग गिरी महाराज आउनुभयो । उहाँले यस छायाक्षेत्रका भक्तजनहरूमा आध्यात्मिक ज्ञानको ज्योति छर्नुभयो ।
द्वन्द्वकालको करिब १२ वर्ष नागाबाबा भारत जानुभएको थियो । पछि फर्केर यही पुण्यभूमिमा आई वि.सं. २०६६÷०३÷१७ मा ब्रह्मलीन हुनुभयो र उहाँको इच्छाअनुसार यहीँ समाधिस्त गरियो । यस तपोवनमा महाशिवरात्रीका दिन ठूलो मेला लाग्दछ । यस दिन मनले चिताएको फल प्राप्त गर्न टाढा–टाढाबाट भक्तजनहरू आई शङ्खमूलमा स्नान गरी छत्रेश्वरी भगवतीको पूजा अचर्ना गर्दछन् । छत्रेश्वरी पयर्टन विकास समितिको पहलमा २०६६ सालमा श्रीमद्भगवत महायज्ञ सम्पन्न गरी भक्तजनहरूबाट प्राप्त दान रकमले मन्दिर परिसरको पुनर्निर्माण, मन्दिर जाने सडकको स्तरोन्नति एवम् निर्माणका साथै, पार्किङ र पिकनिक स्पट, बिजुली र खानेपानीको व्यवस्थालगायतका कार्यहरू भइरहेका छन् ।

महादेवले नुहाएकाे ‘शंखमूल’
छत्रेश्वरी मन्दिरको केही दुरी तल शारदा नदीको छेउमा शङ्खमूल रहेको छ । यहाँ पहिला शङ्ख आकारको मूल र सानो आकारको मन्दिर थियो । तर अहिले स्थानीय सरकारले शङ्खपार्कको रूपमा विकास गरेको छ । यहाँ नेपालकै सबैभन्दा ठूलो शङ्ख निर्माण गरिएको छ । यस ठाउँलाई सल्यानकै आकर्षक पार्कको रूपमा लिइन्छ ।
छत्रेश्वरी मन्दिरमा पुग्ने भक्तजनहरूले शङ्खमूलमा गई नुहाउने तथा जल छिटी शरीर चोखो गराउने गर्दछन् । सतीदेवीका सम्पूर्ण अङ्ग पतन भइसकेपछि महादेवले त्यही मूलमा नुहाई कैलाश पर्वत गएको धार्मिक किंवदन्ती छ । अहिले पनि यो मूलको छेउमा रहेको शारदा नदीमा अस्तु सेलाउने गरिन्छ ।

सल्यानकै अग्लाे लेक ‘जथाक’
जथाक लेक सल्यान जिल्लाको सबैभन्दा अग्लो लेक हो । यो समुन्द्री सतहदेखि २ हजार ८ सय मिटरको दुरीमा रहेको छ । यो छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर २ र ४ को बिच भागमा रहेको छ । यसको पूर्वतिर रोल्पा जिल्ला पर्दछ । यो लेकसँगै यसको वरिपरि होचा लेकको रूपमा पाथीभरा र गुँरासे रहेका छन् । यो लेकलाई सल्यान कपुरकोटबाट रुकुम झुल्नेटा जोड्ने उत्तर–दक्षिण राजमार्गले छुने गर्दछ ।
यहाँबाट सल्यानका अधिकांश ठाउँ तथा रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, दाङ, बाँके, बर्दिया, प्यूठान, बाग्लुङ देख्न सकिन्छ । धौलागिरि र सिस्ने हिमालको पनि नजिकबाट नियाल्न सकिने ठाउँ हो यो । यहाँ विभिन्नखाले बहुमूल्य जडीबुटीहरू पनि पाउने गर्दछ । घना जङ्गल र पदमार्ग यहाँको एउटा आकर्षणको रूपमा रहेको छ ।

चाँदनी साततले गुफा र ढकढके भ्यू प्वाइन्ट
छत्रेश्वरी गाउँपालिका, वडा नम्बर ५ मा रहेको चाँदनी साततले गुफा धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ । यस गुफामा विभिन्न किसिमका चित्र तथा आकृति देख्न सकिन्छ । यो चाँदीजस्तै टल्किने सात तलाको गुफा भएकोले यसलाई साततले चाँदनी गुफा भनिएको हो ।
गुफाको एक तलाको उचाइ करिब ३० मिटर छ । गुफामा रहेको गाईका थुन आकारका चट्टानबाट दूधजस्तै तरल पदार्थ निरन्तर चुहिन्छ । त्यस्तै, यहाँ ढुङ्गाको मादल पनि रहेको छ । यसलाई बनाउन पनि सकिन्छ । यो गुफा १९६५ मा स्थानीयहरूले गोठाला जाँदा फेला पारेका थिए ।
गुफा नजिकै सिद्ध बाबा र महादेवको मन्दिर निर्माण गरिएको छ । मन्दिरको दायाँपट्टि ढकढके नामको लेक रहेको छ । ढकढके लेकमा निर्माण गरिएको कृतिम भ्यू प्वाइन्ट आन्तरिक पर्यटकहरूको रोजाइको केन्द्रसमेत बनेको छ । यहाँबाट विभिन्न ठाउँको दृश्य देख्न सकिन्छ । ढकढके लेकको मुनितिर हेर्दा डरलाग्दो भीर छ । यही भीरमा फलामको पुल अड्याएर भ्यू प्वाइन्ट बनाइएको छ ।
छत्रेश्वरी गाउँपालिकाको सँघार, लेकपोखरा, लान्ती बजार, बोटेचौर र सल्यानको शारदा खोलालगायत आसपासको सुन्दर दृश्यावलोकनसमेत गर्न सकिन्छ । अहिले ढकढकेमा भ्यू प्वाइन्ट बनेसँगै जिल्लाभित्रका पर्यटकहरूको फोटो खिँच्न भीड लाग्ने गरेको छ ।

जनयुद्धको निशानी ‘गुराँसे गाउँ’
सशस्त्र माओवादी जनयुद्धको निशानामा परेको एउटा ठाउँ हो, छत्रेश्वरी गाउँपालिका २, गुराँसे । जनयुद्धमा सल्यान जिल्लामा सबैभन्दा धेरै क्षति हुनेमा गुराँसे गाउँ पर्दछ । २०५९ साल जेठ २९ गतेको दिन तत्कालीन माओवादी लडाकु र सरकार पक्षका सेनाबिच भएको लडाइले गुराँसे र नजिकै रहेको झ्याममा गरी ११ जनाले ज्यान गुमाउनुपरेको थियो । त्यसबेला यहाँ करिब दर्जनौँ घरगोठ जलेर खरानी भएका थिए ।
यो ठाउँलाई अहिले युद्ध पर्यटनको रूपमा लिन सकिन्छ । युद्धको चपेटामा परेको गुराँसेले अहिले मुहार फेरेको छ । गुराँसेमा सडक, विद्ययुत, खानेपानी, सञ्चार, विद्यालयलगायतको विकास निर्माणका कामहरू भएर नमुना गाउँ बनेको छ । गुराँसेलाई अहिले व्यावसायिक किबी खेतीका रूपमा लिने गरिन्छ । सल्यान जिल्लामा सबैभन्दा बढी किबी उत्पादन गुराँसेमा हुँदै आएको छ ।
गुराँसे गाउँदेखि करिब २ सय मिटरमाथि जाँदा लसुने लेक भेटिन्छ । लसुने लेक आन्तरिक पर्यटकको रोजाइ बन्दै आएको छ । पहाडको अग्लो टुप्पोमा रहेको लसुने लेकबाट धौलागिरिदेखि सिस्ने हिमालका हिमशृङ्खला हुँदै टाढा–टाढासम्मका विभिन्न जिल्लाको अवलोकन गर्न सकिन्छ । पाटनजस्ता देखिने लसुने लेकका चौरहरूले पनि मान्छेको आकर्षण तानेको देखिन्छ ।

बोजोबारी
छत्रेश्वरी गाउँपालिका, वडा नं. १ मा रहेको रहेको बोजोबारी एक लोभलाग्दो खालको वनस्पति हो । सल्यानको बागचौर नगरपालिका, वडा नं. ९ र रोल्पाको गङ्गादेव गाउँपालिका, वडा नं. ३ सँग सिमाना जोडिएको हाँसेकाटे वनको छेउ हलहलेमा बोजोबारी रहेको छ ।
यहाँ देखिने बोजोको हरियो पातले देख्ने जो कोहीको पनि मन मनोरम बनाइदिन्छ । रोल्पा सल्यान आवत–जावत गर्ने जो कोहीले पनि यहाँको बोजोबारीमा बसेर फोटो खिंच्न छुटाउँदैनन् । यसको पात जति सुन्दर देखिन्छ, जरा पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । यसको जरा खानाले विभिन्नखाले रोग निको हुने औषधीय गुण रहेको छ ।

शारदा र दारिमज्यूलाको फाँट
छत्रेश्वरी गाउँपालिकाको उर्वर भूमिको रुपमा शारदा नदि आसपासको फाँटहरु रहेका छन् । चैबाङजिलाबाट लान्ती, भोटेचौर, शंकमुल, लुहाम, जिताठान हुँदै रिखेको छेउसम्म छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने शारदा नदि किनारको ठुलो खेतियोग्य फाँट हो । वडा नम्बर ३ मा पर्ने दारिमज्यूला पनि यहाँको खेतियोग्य फाँट रहेको छ । बाह्रै महिना सिँचाईको पर्याप्त सुविधा भएको यस क्षेत्रमा धान, गहुँ तथा तरकारि खेति हुने गर्दछ ।

मयानी र दहखाेलाकाे सुन्तला
पछिल्लाे समय छत्रेश्वरी गाउँपालिकाकाे वडा नं. १ र २ मा ठुलाे मात्रामा व्यवसायीक सुन्तला खेति फस्टाउन थालेकाे छ । वार्षिक कराेडाैं मुल्यकाे सुन्तला निर्णात हुने यस क्षेत्रमा व्यवसायीक सुन्तला खेति सँगै कृषि पर्यटनकाे पनि राम्राे सम्भावना देखिन्छ ।