शारदा नगरपालिकाको चिनारी
परिचय
१९८.३४ वर्ग किलोमिटर क्षेत्रफल रहेको शारदा नगरपालिका सल्यान जिल्लाको मध्य भागमा जिल्लाको सदरमुकाम रहेको पालिका हो । नेपाल सरकारको मिति २०७१ वैशाख २५ गतेको निर्णयबाट सल्यान जिल्लाको तत्कालीन ७ गाविस खलङ्गा, मार्के, हिवल्चा, कजेरी, सेजवाल टाकुरा, स्यानीखाल र डाँडागाउँलाई मिलाएर घोषणा भई २०७१ ÷०२÷०२ गतेबाट शारदा नगरपालिका औपचारिक रूपमा स्थापित तथा सञ्चालनमा आएको हो ।
यस नगरपालिकाको नामकरण यस नगरपालिका भई बग्ने शारदा नदीबाट गरिएको हो । शारदा नदी शारदा नगरपालिकाको मात्र नभई सल्यान जिल्लाको पनि प्रमुख नदीको रूपमा मानिन्छ । यस नदीलाई आर्थिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । बागचौर नगरपालिकाको शिवरथ लौराबाङबाट उत्पत्ती भई शारदा नदी सल्यान जिल्लाभित्र सयौँ किलोमिटरको दुरी भएर बग्ने गर्दछ ।
शारदा नदी बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र कालिमाटी गाउँपालिका हुँदै बग्दछ । यो नदी सल्यानको कालिमाटी दम्दुवालीमा दाङबाट आउने बबई नदीसँग मिसिन्छ । बबई नदीसँग मिसिएर सल्यानको भाग बग्दै बर्दियाबाट भारतमा पुग्छ । यसलाई भारतमा सयुर नदीको नामबाट चिनिन्छ । यो नदीले सल्यानका थुप्रै जमिन सिँचाई गर्दछ भने निर्माण कार्यको लागि गिट्टी, बालुवामा पनि मद्दत गरेको छ । शारदा नगरपालिकामा शारदा नदीसँगै सुकेखोला, घट्टेखोला, डुरखोला, दहखोला, बाउन–पँधेरा खोला, मालिके खोला, काउले खोला, सिस्नेरी खोलाहरू पर्दछन् ।
शारदा नगरपालिका सल्यान जिल्लाको सदरमुकामको भू–भागभित्रै पर्दछ । प्रशासनिक कामको लागि जिल्लाभित्र वा बाहिरबाट दैनिक आउने हुँदा धेरैमाझ परिचित छ यो नगरपालिका । सल्यान जिल्लाकै ठूलो व्यापारिक केन्द्र श्रीनगरमै रहको कारण दैनिक उपभोग्य तथा बजारीकरणको मुख्य गन्तव्य बनेको छ । जिल्लाको शैक्षिक हबको हिसाबले हेर्दा पनि यस क्षेत्रलाई अग्रणी रूपमा लिन सकिन्छ ।
जिल्लाको प्रसिद्ध खैराबाङ भगवती मन्दिर, रानीकोटमा रहको हिमपार्क, खामे लेक, शारदाको ऊर्जाशील फाँट, माल्नेटाको अदुवा र सल्यानी खुकुरीले राम्रो पहिचान यो नगरपालिकाले बनाएको छ । पर्यटनको कुरा गर्दा थप मौलिकतामा रहेको सल्यान सदरमुकाम बजार थप आकर्षण रहेको छ भने पूर्व–प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठको पुख्र्यौली घरको सहजै अवलोकन गर्न सकिन्छ ।

चर्चित धार्मिक स्थल ‘खैराबाङ भुवनेश्वरी’
खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । शारदा नगरपालिका वडा नम्बर ११ मा अवस्थित खैराबाङ मन्दिर साविकको हिवल्चा गाविसमा पर्दछ । यस मन्दिरमा सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भम्रण गर्दा देवीको अङ्ग पतन भएको विश्वास गरिन्छ । खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मङ्गलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ । चैत शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
भवानी भुवनेश्वरीले मनले चित्ताएको मनोरथ (मनकामना) पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने बाह्मण क्षेत्रीहरूले मन्दिर वरिपरि चण्डीपाठ गर्दछन् । खैराबाङमा वैदिककालमा पूजा आराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (ईष्र्या) त्याग्न देवीसँग माग गरिन्थ्यो । पौराणिककालबाट बलि दिने चलन सुरु भएको बताइन्छ । खैराबाङमा पञ्चबलिका रूपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउने गरिन्छ । वि.सं. १४८० देखि मन्दिरमा पूजाआजा सुरु गरेको किंवदन्ती पाइन्छ ।
धार्मिक पर्यटनको धरोहर खैराबाङ भुवनेश्वरी मन्दिरमा दर्शन गर्न अर्घाखाँची, गुल्मी, बाग्लुङ, दाङ, रुकुम, रोल्पा, प्यूठान, दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशका विभिन्न भाग र भारतका विभिन्न स्थानबाट पनि दर्शन गर्न भक्तजनहरू आउने गर्दछन् । खैराबाङ भुवनेश्वरी मन्दिर सामुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो सल्यान सदरमुकाम खलङ्गादेखि १६ किलोमिटर पूर्वी–दक्षिणमा पर्दछ ।
मन्दिरमा पुग्नलाई चारैतिरबाट कच्ची रिङरोड बनाइएको छ । खैराबाङ पुग्न राप्ती राजमार्गमा पर्ने सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरबाट ३० मिनेटको सवारी यात्रा तथा २ घन्टाको पैदल यात्रामार्फत सकिन्छ । त्यस्तै, खैराबाङ मन्दिर पुग्नलाई सदरमुकाम खलङ्गाबाट साहुटोल, दुलधारा पोखरा, मार्के, मदना, हिवल्चा हुँदै पुग्न सकिन्छ । यो सडकमा सल्यानको पश्चिम क्षेत्रबाट आउनेहरूलाई सहज हुन्छ भने राप्ती राजमार्ग प्रयोग गर्नेहरूलाई श्रीनगरबाट सहज हुन्छ ।
शारदा नगरपालिकामा पर्ने अन्य मन्दिरमा राधाकृष्ण मन्दिर, धार्मिक, भद्रकाली मन्दिर, शिवगुफा मन्दिर, सरस्वती मन्दिर, शिव पार्वती मन्दिर, जानकी मन्दिर, कालिका थान मन्दिर, शिव पार्वती मन्दिर, प्राकृतिक गुफा मन्दिर रहेका छन् ।

ऐतिहासिक खलङ्गा
शारदा नगरपालिकामा पर्ने खलङ्गा सल्यान जिल्लाको सदरमुकाम हो । समुन्द्री सतहबाट करिब १५ सय मिटरको उचाइमा रहेको खलङ्गा प्राकृतिक, धार्मिक, ऐतिहासिक र प्रशासनिक हिसाबले चर्चित र महत्वपूर्ण स्थान हो । उँचो भू–भागमा रहेको खलङ्गाबाट शारदाका फाँट र उच्च हिमशृङ्खला देख्न सकिन्छ । नेपालको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा पाल्पापछि खलङ्गा गौडाको विशेष महत्व रहिआएको छ । २०१९ सालमा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा प्रशासनिक विभाजन गरिनुअघि रोल्पा, रुकुम, जाजरकोट, दाङ र सुर्खेतको प्रशासनिक गौडा खलङ्गा थियो ।
खलङ्गा भनेकाे नेपाली सेनाले प्राचीन कालमा आफ्नाे सेनाकाे क्याम्प राख्ने उपयुक्त ठाउँ चुन्नमा लागि प्रयाेग गर्ने एक सिंहकाे टाउकाे आकारकाे तान्त्रीक साधन हाे ।जसले निर्देशित गरेकाे थुम्काेमा सेनाकाे क्याम्प तय गरिन्थ्याे । त्यस खलङ्गाले निर्देशित गरेकाे डाँडा /थुम्काकाे नाम खलङ्गा रहन गएकाे हाे । नेपालका पश्चिमी पहाडी जिल्लाहरुमा धेरै ठाउँमा खलंगा रहेका छन् ।
सल्यानकाे खलंगा पहिला व्यापारिक केन्द्र पनि थियो । यहाँ बहुमूल्य जडीबुटी, राडीपाखी, ऊन र कस्तुरीको व्यापार हुन्थ्यो । पहिले खलङ्गा बजारमा नेवार र वादी समुदायको बाक्लो बसोबास रहेको भए पनि हाल अन्य जातजातिको पनि बसाइ रहेको छ । युधिष्ठिर संवत् २५४४ तिर भारतको लुधियानाबाट आई राज्य सञ्चालन गरेका शशिधर जाटका पाँचौँ पुस्ताका हर्बेली जाटको राज्यकालमा सल्यान खलङ्गामा बस्ती सुरु भएको पाइन्छ । हालको सेजवाल–टाकुरास्थित ढारबाट जाटका पछल्ला खस राजाहरूले खलङ्गामा राजदरबार सारेका थिए । सेन वंशको राज्यकालमा जाटहरूले राजधानी केही समय कालाङ्र्गामा सारे पनि शाह वंशको आगमनसँगै राजधानी पुनः खलङ्गामै स्थापना गरियो ।
खलङ्गामा रहेको तत्कालीन चारतले भव्य दरबार बडाहाकिमहरूको मुख्य प्रशासनिक केन्द्र थियो । हाल यो भवन भत्किसकेको छ । सल्यानका राजा–रजौटाकालीन र गौडाकालीन दरबारका केही कलात्मक झ्याल, ढोका, मोठ र थामहरू जिल्ला समन्वय समितिको सभाहलमा प्रयोग गरिएको छ । खलङ्गा, डाँडागाउँमा राजा पृथ्वीनारायण शाहले सल्यानी राजखलकका एकजना आफन्तका लागि दरबार निर्माण गरिदिएका थिए ।
सो दरबारको मुख्य भागमा रहेका कलात्मक झ्याल, ढोका र दलानको यथास्थानमा संरक्षण गरी भूपू शिक्षा राज्यमन्त्री राजेन्द्रबहादुर शाहले पृथ्वीनारायण शाहकालीन वास्तुकलाको नमुनालाई जीवित राखेका छन् । त्यस्तै, टुँडीखेलमा रहेको बालमन्दिर भवन पनि आकर्षणको केन्द्र रहेको छ । त्रिपुरा शाहले सल्यान जिल््लाको कला–संस्कृतिबारे जानकारी दिने उद्देश्यले यस भवनमा ढिकी, जाँतो, ठेकीलगायत कलात्मक सामग्री र भेषभूषा सङ्कलन गरिराखेका छन् । पर्यटकका लागि यो भवन अभिरुचिको विषय बन्न सक्दछ ।
सल्यान खलङ्गा आसपास थुप्रै ढुङ्गेधाराहरू छन् । खलङ्गाको मुख्य बजार क्षेत्रमा रहेको ठुलधार, डाँडागाउँमा रहेको काजीधारा, बयलडाँडामा रहेको गाइनधारा, बडाखोलामा रहेको पुरेतधारा, स्यानीपनेरीमा रहेको धोबीधारा आदिले सल्यानमा ढुङ्गेधारा प्रशस्तै भएको पुष्टि गर्छन् ।
खलङ्गामा खानेपानीको लागि सयौँ वर्ष पहिला सल्यानीहरूले राजा समक्ष पटक–पटक बिन्तीपत्र लेखे पनि २०१६ सालमा राजा महेन्द्रबाट ‘खानेपानीको व्यवस्था गरिदिनू’ भन्ने हुकुम प्रमाङ्गी भई निकासा भएको जीआई पाइप लिन सल्यान गौडाका बहिदार ईश्वरबहादुर हमाल नेपालगञ्ज गएको र जनताले ती पाइप आफैँ बोकेर ल्याई २०२९ सालमा खलङ्गा खानेपानी योजना सम्पन्न भएको थियो । पछि गएर हाल खलङ्गामा श्रीनगरबाट लिफ्ट प्रविधिमार्फत बृहत् खानेपानी योजना चालु छ ।

सल्यानी खुकुरी
सल्यान जिल्लाबाट सिर्जना भई राष्ट्रियस्तरसमक्ष आफ्नाे विशिष्टता प्रदर्शन गर्ने सल्यानका विभिन्न कलामध्ये सल्यानी खुकुरीको निर्माण गर्ने कला पनि महत्वपूर्ण कलाका रूपमा परिचित छ । नेपालमा खुकुरी निर्माणको लागि प्रसिद्ध जिल्ला भोजपुरपछि गुणस्तरीय खुकुरी निर्माणको लागि सल्यान जिल्लालाई लिने गरिन्छ । २०१७ सालतिर तत्कालीन राजा महेन्द्र शाहको सल्यान जिल्लाको भ्रमण गर्नेक्रममा सल्यानको शितलपाटी आवागमन भएको थियो ।
राजा महेन्द्र शाह शितलपाटी आएका बेला उनले सल्यानी खुकुरीको चर्चा परिचर्चा बुझेपछि खुकुरीका लागि प्रसिद्ध स्थान शारदा नगरपालिकाको खलङ्गा मेचखानामा सवार भए । राजा महेन्द्र मेचखानामा प्रवेश गरिसकेपछि उनले सल्यानी खुकुरी बन्ने प्रक्रिया र निर्मित सल्यानी खुकुरीको गुणस्तर अवलोकन गरी खुकुरी निर्माण सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरी १२ थान सल्यानी खुकुरी काठमाडौं लिएर गएका थिए । ती १२ थान सल्यानी खुकुरीले काठमाडौंमा समेत व्यापक चर्चा पाएपछि उनी सल्यानी खुकुरीबाट धेरै प्रसन्न भएका थिए ।
फेरि उनको सल्यान भ्रमण गर्ने अवसरमा खुकुरीका लागि उनि प्रसिद्धस्थान सल्यान सदरमुकाम खलङ्गाको मेचखानामा पुगेका थिए । पुनः सल्यान आइसकेपछि राजा महेन्द्रले खुकुरी निर्माणको टोलीलाई खुकुरी निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराई काठमाडौं गएका थिए । यसरी सल्यानी खुकुरीको व्यापकताको इतिहास आफैँ भन्छ, सल्यान जिल्ला नेपाल अधिराज्यमा खुकुरीका लागि दोस्रो प्रसिद्ध जिल्ला हो भनेर ।
सल्यानमा निर्मित खुकुरीको गुणस्तर र सल्यान बाहिरका जिल्लाहरूमा निर्मित खुकुरीको गुणस्तरबिच प्रतिस्पर्धा गराउँदा सबै जिल्लामा निर्मित खुकुरीको गुणस्तरलाई उछिन्दै सल्यानी खुकुरीको गुणस्तर पहिलो स्थानमा पर्ने कुरामा दुई मत छैन ।

रानीकोट ‘हिमदृश्य पार्क’
शारदा नगरपालिका वडा नम्बर ५, रानीकोटमा रहेको हिमदृश्य पार्क पछिल्लो समय घुम्न लायक ठाउँ बन्दै गएको छ । शारदा नगरपालिकाले यहाँ पर्यटकीय आकर्षणका लागि विभिन्न संरचना निर्माण गर्न थालेपछि अहिले यहाँ आन्तरिक पर्यटकहरूको गन्तव्यको रोजाइ बन्न थालेको हो ।
पार्कमा निर्माण गरिएका विभिन्न संरचना पनि यो ठाउँलाई आकर्षक बनाइरहेको छ । खुला आकाशमुनिको यो रमणीय ठाउँमा शनिशार र बिदाको दिनमा घुम्न आउनेहरूको सङ्ख्या बढ्दो छ । सल्यानको सदरमुकाम खलङ्गाबाट नजिकै पर्ने ठाउँलाई धेरैले रुचाउने गर्दछन् ।

नेपालमै प्रख्यात ‘माल्नेटाको अदुवा’
अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणतः तरकारी, मसला र औषधीको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ । जति कम रेशा भयो, अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा सल्यान माल्नेटाको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ । सल्यानका विभिन्न ठाउँमा अदुवा पाइने गर्दछ ।
त्यसमध्येको एक हो माल्नेटा । अदुवाको लागि माल्नेटा नेपालकै प्रमुख ठाउँ मानिन्छ । शारदा नगरपालिका १४ र १५ मा रहेको माल्नेटामा रेशाविहीन अदुवा पाइन्छ । यो पहिलेको डाँडागाउँ गाविसअन्तर्गत पर्दथ्यो ।
माल्नेटा राष्ट्रिय रूपमा अदुवा उत्पादनमा चर्चा पाएको गाउँको नाम हो । माल्नेटा ढारखानी क्षेत्रमा पाइने रेशाविहीन अदुवा एसियाकै उत्कृष्ट मानिन्छ । एसियामै रेशाविहीन अदुवा उत्पादनले माल्नेटा चिनिन्छ । यहाँको अदुवा देशका विभिन्न ठाउँ र विश्वका विभिन्न देशमा समेत पुग्ने गर्दछ । अदुवाबाट माल्नेटाबासीको जीवनस्तरमाथि उकासिएको छ । यो चैत–वैशाखमा रोपिन्छ भने असोज–कात्तिकमा खनिन्छ ।

सल्यानकै प्रमुख व्यापारिक केन्द्र ‘श्रीनगर बजार’
शारदा नगरपालिका १ मा पर्ने श्रीनगर बजार सल्यान जिल्लाको मुख्य व्यापारिक केन्द्र हो । श्रीनगर बजार केन्द्रबिन्दु बनाएर सल्यानसँगै रोल्पा र रुकुमका नागरिकहरूले आवत–जावत गर्ने गर्दछन् । श्रीनगर बजार शारदा नदीको सुन्दर पहिरनले प्रतिष्ठित छ ।
प्राकृतिक रूपमा निकै सुन्दर, चारैतिर सुन्दर पहाडहरूले घेरेको, बिचमा शारदा नदी र त्यसैको बिचभागमा अवस्थित छ, श्रीनगर । यहाँ दिन–प्रतिदिन झनै बजारीकरण हुँदैछ ।
विद्यार्थी, किसान, मजदुर, कर्मचारी, व्यापारी, राजनीतिकर्मीहरूको मुख्य हब बन्दै गइरहेको श्रीनगरमा अहिले मान्छेको आवादि पनि निकै बाक्लो हुँदै गएको छ । राप्ती राजमार्गमा पर्ने श्रीनगर बजार चार दशकभन्दा अगाडिबाट बसेको हो ।

खेतियोग्य ‘शारदा फाँट’
शारदा नगरपालिकाको उर्वर भूमिको रुपमा शारदा नदि आसपासको फाँटहरु रहेका छन् । मोख्ला देखि तान्ती साँघार सम्मको शारदा नदि छेउमा रहेका थुप्रै खेतियोग्य जमिन शारदा नगरपालिकामा पर्दछन् ।
शारदा नदि किनारले वडा नम्बर १५, १४, ७, ६, २, १, १२ र १३ नम्बर वडाहरुलाई समेटेको छ बाह्रै महिना सिँचाईको पर्याप्त सुविधा भएको यस क्षेत्रमा धान, गहुँ तथा तरकारी खेति हुने गर्दछ ।

पिकनीक पार्क ‘चन्द्रपाला’
शारदा नगरपालिकाकाे वडा नं. २ मा रहेकाे चन्द्रपाला पिकनिक स्पाेर्टका लागि पछिल्लाे समय उपयुक्त ठाउँ बन्दै गएकाे छ । जिल्लाकाे सदरमुकाम नजिकै रहेकाे याे ठाउँ घुमघाम तथा वनभाेज गर्न लागि धेरैकाे राेजाइ बन्दै गएकाे छ ।
वनभाेजका लागि आवश्यक पर्ने सबै सामाग्री देखि, पानी तथा खुल्ला चाैर र घरहरु हुँदा यहाँ शारदा नगरपालिका सँगै अन्य पालिकाका बासिन्दाहरु पनि वनभाेजका लागि आउने गर्दछन् ।