२०८३ जेष्ठ ८ गते शुक्रवार | 2026 May 22nd Friday

सिद्ध कुमाख गाउँपालिकाको चिनारी

परिचय

८९.३६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सिद्ध कुमाख गाउँपालिकासङ्घीय संरचनाअनुसार ५ वटा वड रहेको सल्यानको सबैभन्दा सानो पालिका हो । साविकका बाँझकाँडा, चाँदेकरेञ्जी र सिद्धेश्वरी गाविस मिलाएर सिद्धकुमाख गाउँपालिकाको स्थापना गरिएको हो ।

सिद्धकुमाख गाउँपालिकाको नामकरण यसै क्षेत्रमा पर्ने सल्यानकै प्रसिद्ध दोस्रो अग्लो कुमाख लेक र त्यहाँ रहेको सिद्धबाबाको मन्दिरलाई संयोजन गरेर सिद्धकुमाख राखिएको हो । कुमाख लेक समुन्द्री सतहदेखि २५३७ मिटरको उचाइमा अवस्थित छ । यो लेक सिद्धकुमाख गाउँपालिका र कुमाख गाउँपालिकाको बिचभागमा अवस्थित छ ।

यो गाउँपालिका आफैँमा सुन्दर र मनमोहक रहेको छ । कुमाख लेकको पहिचान र कुमाखको फेदमा रहको शिवगुफा, मोखलामा रहको शिव मन्दिर आन्तरिक पर्यटनका राम्रा र आर्कषक स्थान हुन् ।
बजारको क्षेत्रमा रहेको ढोरचौर बजारमा पालिकाको केन्द्र छ । चाँदे करेञ्जीको सुन्तला क्षेत्रले यस क्षेत्रमा राम्रो पहिचान बनाएको छ । खेल क्षेत्रमा भलिबललगायतका अन्य खेलहरूमा राम्रो पहिचान बनाएको यस गाउँपालिकाको डाँडाकटेरीको क्लबका सांस्कृतिक कार्यक्रमहरू, बाह्रागाउँका खुर्सानी र परम्परागत ढुङ्गाबाट बनाएका फलाँटेका घट्ट र सिलौटा सल्यानसँगै रोल्पा र रुकुममा पनि प्रख्यात रहेका छन् ।

कुमाख लेक र सिद्ध मन्दिर
कुमाख लेकको टुप्पामा सिद्ध मन्दिर पनि छ । यहाँ बन्द कोठाभित्र सिद्ध बस्दैनन् भन्ने जनविश्वासअनुरूप मन्दिरको छानो बनाइएको छैन् । यस मन्दिरमा प्रत्येक वर्षको विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजा हुने गर्दछ । यहाँ पहिलोपटक जानेले सातपटक मन्दिरको परिक्रममा गरेर वर माग्ने र सो पूरा भएपछि भेडो बलि चढाउने गरिन्छ । यस मन्दिरमा कहिलेदेखि पूजा गर्न थालियो भन्ने जानकारी कसैलाई छैन । जिजुबाजेले पूजा गरेको बाजेले थाहा पाएको र बाजेले पूजा गरेको आफूले थाहा पाएको कुरा डाँगी थरका पुजारीहरू बताउँछन् । चतुर्दशी र कोजाग्रत पूर्णिमाका दिन मन्दिरदेखि करिब एक किलोमिटर तल जिमालीतर्फको समथर भू–भागमा सल्यान जिल्लाकै ठूलो मेला लाग्दछ ।

सल्यानकै ठुलाे गुफा ‘सिद्धगुफा’
सिद्धकुमाख गाउँपालिकाको प्रमुख धार्मिक एवम् प्राकृतिक पर्यटकीयस्थलमध्येको एक सिद्धगुफा हो । प्राचीन महत्व र पुरातात्विक सम्भावनाले भरिएको यस गुफा कुमाख लेकदेखि केही भाग तल सिद्धकुमाख गाउँपालिकाको वडा नं. २ मा अवस्थित छ । गुफाको लम्बाइ करिब १५० मिटर रहेको देखिन्छ ।

यो गुफा करिब ५० को दशकतिर पत्ता लागेको हो । गाउँलेहरूले सिकारको क्रममा दुम्सी लखेटिरहेका थिए । दुम्सी लखट्दै जाँदा एउटा ओढारभित्र दुम्सी पस्न पुग्यो । हत्तपत्त सिकारीहरू पनि ओढारभित्र दुम्सी पकड्न पुगे । ओडारभित्र पुगेका उनीहरूले चमेराको मल अर्थात् दिसा भेटेछन् । खोज्दै जाँदा मलसँगे उनीहरूले अनेक–अनेक मूर्तिहरू भेट्टाएछन् ।

अनकन्टार जङ्गलभित्रको गुफामा अचानक त्यसरी मूर्तिहरू भेट्टाउन पुग्दा उनीहरू आश्चर्यचकित हुन पुगेछन् । मूर्तिहरू केही शिव–पार्वतीका थिए भने केही जनावरहरूका, केही शिव लिङ्गी आकारमा कुँदिएका त, केही चट्टानमा गाईका थुन प्रतीत हुने आकृतिहरू पनि देखिए । केही आश्चर्य, केही डर र केही रोमाञ्चकतासहित उनीहरूले सबै गाउँलेलाई त्यो गुफाबारे सुनाए । त्यसपछि सिद्धगुफाको उत्खनन् एवम् प्रचलनमा आएको गाउँलेहरूको श्रुतिकथाबाट बुझ्नमा आएको छ । अहिले यो गुफाको संरक्षण गरिएको छ भने आन्तरिक पर्यटकहरूका लागि आकर्षक बनाइएको छ । गुफामा पुग्नका लागि भर्याङ एवम् पदमार्ग तथा गोलघरको निर्माण गरिएको छ ।

 

फलाटेका परम्परागत घट्ट
सिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ फलाटे गाउँ घट्ट बनाउने खानीको रुपमा प्रसिद्ध छ ।

यहाँका दर्जनबढी घर परिवारले घट्ट बनाएरै घर खर्च चलाउने गरेका छन् । ढुंगा कुँदेर बनाइएका यहाँका पानीघट्ट, जाँतो तथा सिलौटाहरु सल्यान सँगै रोल्पा र रुकुममा पनि प्रख्यात छन् ।

केही समय अघिसम्म सल्यानका ग्रामीण भेगमा सञ्चालनमा रहेका पानीघट्ट लोप हुन थालेपछि यसको सुधार गर्न थालिएको छ । विभिन्न कारणले पानीका मुहान सुक्दै जाँदा पानीकै अभावका कारण पानीघट्टको प्रचलन लोप हुनथालेपछि यसको सुधार गरेर प्रयोगमा बढावा दिन थालिएको हो । जसका कारण अहिले जिल्लामा निर्माण गरिएका पानीघट्टको माग अहिले केहि वर्ष अगाडीको तुलनामा बढेको फलाटेका स्थानीयरु बताउछन् ।

कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको र परम्परागतरुपमा प्रयोग हुने काठका ठाउँमा फलाम र प्लास्टिकका सामग्री फेर्दा थोरै पानीमा पनि घट्ट चल्ने भएकाले यसको माग बढेको स्थानीय बताउँछन् ।

चाँदे करेञ्जीका सुन्तला
सिद्ध कुमाख गाउँपालिका भित्र पर्ने वडा नं. ४ चाँदे करेञ्जीको सुन्तला क्षेत्रले यस क्षेत्रमा राम्रो पहिचान बनाएको छ । यहाँबाट मात्रै किसानले वार्षिक करोडौं मुल्यको सुन्ता बिक्री गर्नेगर्दछन् ।

चाँदे करेञ्जीको सुन्तला बाहेक सिद्ध कुमाख गाउँपालिका भित्र सौडोटाको टिमुर, सितलटाकुरीको अदुवा, बाह्रागाउँका खुर्सानी, बेलाइतीघारीका अम्बा प्रख्यात रहेका छन् ।

पटारेको आकर्षक मुला खेति
सिद्धकुमाख गाउँपालिका भित्र शारदा नदि किनारको फाँटमा ठुलो मात्रामा मुला खेति हुने गर्दछ । मुलाको फुल फुल्ने क्रममा यहाँका फाँटहरु रमाइला देखिन्छन् । पटारे क्षेत्रमा राप्ती राजमार्ग छेउका फाँटहरुमा मुला फुलेको बेला यात्रा गर्ने जो कोहिले पनि यहाँको सुन्दर दृश्य अवलोकन गर्न सक्छन् ।

अहिले शारदा नदिका फाँटहरुमा गहुँ खेतिभन्दा मुला खेतितर्फ किसानहरु आकर्षित भएका छन् । गहुँ रोप्ने कार्तिक, मंसिरको समयमा मुला रोपिन्छ भने बैशाख, जेठ तिर उत्पादित गेडा भित्त्रायाइन्छ । बीउ उत्पादनको लागि मुला खेति हुने गर्दछ । सल्यानबाट वार्षिक करोडौं मुल्यको मुलाको बीउ निकासी हुने गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस