बनगाड कुपिण्डे नगरपालिकाको चिनारी
बनगाड कुपिण्डे नगरपालिकाको परिचय
करिब ३३८.२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बनगाड कुपिण्डे नगरपालिका समुन्द्र सतहबाट ५५० मिटरदेखि २३०० मिटरसम्मको उचाइमा रहेको छ । यो नगरपालिका प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताले भरिएको छ ।
सङ्घीय संरचनाअनुसार १२ वटा वडामा विभाजित यस नगरपालिका साविकका देवस्थल, वामे, मूलखोला, घाँजरी पीपल, कुपिण्डेदह, माझकाँडा र निगालचुला गाविसलाई मिलाएर स्थापना गरिएको हो । साविक देवस्थल, वामे, घाँजरी पीपल, मूलखोला गाविसमा प्रचलित बनगाडी संस्कृति र सल्यान जिल्लाकै प्रमुख पर्यटकीयस्थल कुपिण्डे तालको संयोजनबाट बनगाड कुपिण्डे नगरपालिकाको नामकरण गरिएको हो । बनगाड क्षेत्रमा पहिला घना वन–जङ्गल र त्यहाँ बग्ने खोला (गाड) का कारण यस क्षेत्रको नाम बनगाड रहन गएको र कुपिण्डे ताल कुपिण्डो आकारको भएकोले त्यसैबाट यसको नामकरण गरिएको स्थानीयबासीको भनाइ रहेको छ ।

सल्यानकै ठुलाे ताल ‘कुपिण्डे’
सल्यान जिल्लाकै एक महत्वपूर्ण पर्यटकीयस्थल कुपिण्डे ताललाई मानिन्छ । सल्यानको सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने कुपिन्डे ताल निकै मनोरम अनि आकर्षक छ । चारैतिर पहाडले घेरिएको र बिचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जङ्गल र बिचमा नीलो आकाशझैँ उत्तर–दक्षिण फैलिएको यो ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्लाकै एक उत्कृष्ट पर्यटकीयस्थल हो, जसलाई कर्णाली प्रदेशमा ‘मिनी रारा’ भनेर पनि चिनिन्छ ।
कुपिण्डे तालले वर्षमा ३ वटा रङ बदल्ने गर्दछ । वर्षा, हिउँद र गर्मी याममा मौसमपिच्छे यो तालले परापूर्वकालदेखि रङ बदल्ने गरेको विश्वास गरिन्छ । पानी सधैँ सफा रहने यो तालमा वर्षामा वरिपरिको बाढी पस्दा पनि पानी कहिल्यै धमिलो हुँदैन । वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात खसेको नभेटिने स्थानीयहरू बताउँछन् । पात खस्नासाथ आफैँ किनारमा पुग्छन् । नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ । यो ताल चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान हो ।
झट्ट हेर्दा नेपालको नक्सा आकारको देखिने यो तालमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन । यो तालको देखिने मुहान पनि छैन र निकास पनि छैन । तर, वर्षामा तालमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो विस्तारै घट्दै जान्छ । कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ १ हजार २ सय मिटर र चौडाइ ३ सय ५० मिटर रहेको छ भने ताल ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
किंवदन्तीअनुसार कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । गाउँमा एक दिन साधु भेषमा एकजना मानिस बासको खोजीमा गाउँमा आएछन् । धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनछन् । निराश हुँदै एकजना वृद्धको घरमा उनी पुगेछन् । उनले बासका लागि आफू आएको कुरा सुनाएछन् । घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नका लागि केह प्रबन्ध हुन नसक्ने बताए पनि साधुले त्यही घरमा बस्ने अनुमति मागेछन् । वृद्धको गरिबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन्, “म कैलुवराह हुँ । अरूलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिन्भरमा डुबाइदिन्छु ।” अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन्, “त्यो पहाडसम्म जाऊ । हिँड्दा पछि फर्किएर नहेर्नू ।” त्यसपछि महिला पहाडतर्फ लागिछन् । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह भएछ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पूर्वी–उत्तरी भागमा रहेको कुपिण्डे पुग्न छिन्चु, मेलकुना हुँदै सल्यानको बालुवासङ्ग्रही आएर खलङ्गा आउने पूर्वी–भागको उकालो सडक हिंडेपछि पुगिन्छ । साविकको राप्ती अञ्चलको तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगरबाट खलङ्गा, जयतपानी हुँदै पनि यो तालमा पनि पुग्न सकिन्छ । कुपिण्डे तालसँगै जोडिएको कैलुवराह मन्दिरमा पूजाआजा गर्न बर्सेनि टाढा–टाढाबाट भक्तजनसमेत पुग्दछन् । यहाँ शनिबारको दिन पर्यटकहरूको विशेष उपस्थिति हुन्छ । यहाँ देशका विभिन्न जिल्लाहरूबाट पर्यटकहरू आउने गर्दछन् । डुङ्गा सयर गर्न, मन्दिरमा पूजापाठ गर्न र मनोरम वातावरणमा रमाउन यो ताल पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

देवी–देवताका मूर्तिहरू भेटिएको ‘देवस्थल कृष्ण मन्दिर’
वनगाड कुपिण्डे नगरपालिकास्थित भेरी नदी किनारमा रहेको देवस्थलको कृष्ण मन्दिर यो क्षेत्रकै प्राचीन र ऐतिहासिक महत्त्वको धार्मिकस्थल हो । सुर्खेत, जाजरकोट र रुकुमको केही भू–भाग तथा पश्चिमोत्तर सल्यानका केही भागको केन्द्रमा रहेको यस मन्दिरको ऐतिहासिक किंवदन्ती छ । एक जनश्रुतिअनुसार पृथ्वीनारायण शाहका पालामा भेरी नदीको बगरमा सुनजडित कृष्ण र राधा (रुक्मिणी) को मूर्ति फेला परेको थियो ।
ती मूर्तिहरू सल्यानी राजाको दरबारतर्फ ल्याउनेक्रममा हराएको र पछि खोज्दै जाँदा भेरी नदीको सोही बगरमा भेटिएपछि सल्यानी राजाले उक्त स्थानमा एक मन्दिर बनाई ती मूर्तिहरूको पूजारम्भ गरिएको थियो । देवी–देवताका मूर्तिहरू भेटिएको र मन्दिर स्थापना भएको स्थलका रूपमा उक्त स्थानको नाम देवस्थल हुन पुगेको देखिन्छ । उक्त देवस्थलको मन्दिरमा प्रत्येक वर्ष कृष्ण जम्माष्टमीका दिन ठूलो मेला लाग्दछ ।
यो मेला दुई दिन एकरात लाग्ने र भजन–कीर्तन गर्नेको सङ्ख्यासमेत उल्लेख्य मात्रामा हुने गर्दछ । उक्त मेलालाई दही जात्राका रूपमा समेत लिने गरिन्छ । विवाह र व्रतवन्धका लागि आसपासका जिल्लावाट समेत ठूलो सङ्ख्यामा मानिसहरू आउने गर्दछन् ।
यस मन्दिरको पूजापाठका लागि पृथ्वीनारायण शाहको पालादेखि ने गुठी सञ्चालन गरिएको र पछि सल्यानी राजाहरूले ६६ मुरी १२ पाथी ४ माना माटो भएको खेत गुठीका रूपमा प्रदान गरेका थिए । उक्त गुठीबाट आएको आयस्ताबाट घाटगाउँ बुरेलीका ब्राह्मणले दैनिक पूजापाठ सञ्चालन गर्ने गरेकामा पछि विवाद भई १९७२ मा सरकारले गुठी फिर्ता गरेको थियो । गुठी फिर्ता भएपछि १९७२ देखि १९८२ सम्म करिब १० वर्ष कोही कसैबाट पूजापाठ हुन सकेन ।
पश्चिम सल्यानकै खलङ्गाबाट बसाइँ सरी घाँजरीपीपलको बालुवासङ्ग्रही गएका कर्णध्वज शाहले ३३ मुरी ६ पाथी २ माना माटो भएको बाँसकोट खेत किनेर गुठी स्थापना गरिदिए । राधा (रुक्मिणी) र कृष्णजीको मूर्तिमा जडित सुनको मुरली र जनै २०१० सालमा हरायो । पछि २०३२ सालमा राधाको मूर्ति हरायो
अन्ततः २०३६ सालमा बाँकी बचेको कृष्णको मूर्ति पनि त्यहाँबाट गायब पारियो । यसरी ऐतिहासिक महत्त्वका ती प्राचीन मूर्तिहरू हराएपछि पुनः केही वर्ष कसैबाट संरक्षण र रेखदेख हुन सकेन् । २०५३ सालमा एकजना बाबा आएर रेखदेख सुरु गर्न लागेकोमा उनी पनि त्यहाँबाट अन्येत्र गइसकेका छन् । अन्ततः २०६१ सालमा छिन्छु–जाजरकोट सडक निर्माणमा क्रियाशील नेपाली सेनाद्वारा यस मन्दिरको मर्मत सम्भारमा साथै, नयाँ मूर्तिहरुको पुनस्र्थापना गरिएको छ ।
प्राचीन र ऐतिहासिक महत्त्वको देवस्थल र यहाँको कष्ण मन्दिर वनगाड क्षेत्रकै सांस्कृतिक र धार्मिक धरोहर हो । यसको संरक्षण र संवद्र्धन हुन सके यस क्षेत्रलाई सबैतिर चिनाउन यो मन्दिर सहायकसिद्ध हुनेछ ।

प्राकृतिक सम्पदाकाे ‘मैदुपोखरी’
बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ मा रहेको मैदुपोखरी यस क्षेत्रको सबैभन्दा ठुलो पोखरी हो । पुस्तौं पहिलेदेखि रहेको यो पोखरी पर्यटकीय घुमघामका लागि आकर्षक देखिन्छ । वस्तुभाउलाई पानी खुवाउन र चरण क्षेत्र भएकोले पनि मैदुपोखरीमा स्थानीयहरुको बेलाबेला जमघट हुने गर्दछ ।
स्वच्छ हावापानी र वातावरणका साथै पारिस्थितिकिय प्रर्णालीलाई चलाउनको लागि पनि पोखरी आवश्यक देखिन्छ ।
केहि वर्षदेखि पोखरी सुक्दै गएकोमा अहिले संरक्षण गर्न थालिएको छ । यहाँ भएका पोखरी मासिने र कुवा सुक्ने क्रम बढेपछि पानीकै अभावमा घरधन्धा र बस्तुभाउ स्याहार्न स्थानियलाई समस्या भइरहेको अवस्थामा मैदुपोखरीमा पाँच बर्षअघि देखी लागु भएको पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन आयोजनाले पुराना पोखरी र कुवा संरक्षण कार्यक्रम सञ्चालन गरहेको हो ।

र्याफ्टिङ चलाउन सकिने ‘भेरी नदी’
भेरी नदी नेपालको प्रमुख नदीहरूमध्येको एउटा महत्वपूर्ण नदी हो । यो नदी कर्णाली नदीको एक मुख्य सहायक नदी पनि हो; जसले कर्णालीदेखि पश्चिम धौलागिरि क्षेत्रलाई सिँचित गर्छ । भेरी नदीको तीन महत्वपूर्ण सहायक नदी छन् ।
दक्षिणतिरबाट सानी भेरी, उत्तरतिरबाट ठूली भेरी आउँछ भने अर्को सहायक नदी हो, उत्तर गङ्गा । भेरी नदी सल्यानको पश्चिम क्षेत्रलाई सिमाना बनाएर बग्दछ; जसले बनगाड कुपिण्डे नगरपालिकाको पूरै क्षेत्र भएर बग्दछ । भेरी नदीमा छेडाबजारदेखि सल्लीबजारसम्म कहिलेकहीँ र्याफ्टिङसमेत गरिन्छ ।

बनगाडमा उत्पत्ती भएकाे ‘बनगाडी टप्पा’
बनगाड क्षेत्रमा क्षेत्रमा प्रचलित बनगाडी टप्पाको उत्पत्ति भएको मानिन्छ । ‘मध्य–पश्चिमका लोकभाका’ पुस्तकका लेखक खड्कबहादुर बुढाका अनुसार प्राचीनकालमा युवायुवती बनगाडमा गोठाला जाँदा केतकीको सुखेको बला बजाउँदै दोहोरी गीतमा सवाल–जवाफ गर्थे र नाच्थे । यसरी बनगाडी टप्पाको जन्म भएको उनको पुस्तकमा उल्लेख छ ।
बनगाडी टप्पालाई सिँगारु नाच पनि भनिन्छ । सिँगारुले मध्य–पश्चिम क्षेत्रकै सर्वाधिक लोकप्रिय नाचका रूपमा ख्याती कमाएको छ ।